Mansara

धरान, पोखरा र काठमाडौं ‘गोर्खा वारियर’को प्रिमियर हुने

२०८० माघ २९
धरान, पोखरा र काठमाडौं ‘गोर्खा वारियर’को प्रिमियर हुने

लण्डनमा इन्टरनेशनल प्रिमियर गरिएको चलचित्र ‘गोर्खा वारियर’को नेपालमा धरान, पोखरा र काठमाडौं रेडकार्पेट प्रिमियर हुने भएको छ ।

लाहुरेको शहर भनेर चिनिने पोखरा र धरानमा त्यहाँका दर्शकको आग्रह बमोजिम प्रिमियर गर्न लागिएको निर्देशक मिलन चाम्सले जानकारी दिएका छन् । निर्देशक चाम्सका अनुसार धरानमा ५ गते र पोखरामा ७ गते प्रिमियर गरिँदैछ । यस्तै फागुन ९ गते काठमाडौंको बिग मूभिजमा काठमाडौं प्रिमियर हुनेछ ।

यसै बिच फागुन ११ गते बाट देशव्यापी रिलिज हुने चलचित्रले मोफसलका बिभिन्न स्थानको प्मोशनल टुर सकेको छ । धरानबाट सुरु भएको मोफसल यात्रा हेटौंडा, नारायणघाट, बुटबल, पाल्पा हुँदै पोखरामा आएर सम्पन्न भएको हो । प्रमोशनका क्रममा तत् स्थानका भूतपूर्व ब्रिटिस गोर्खा सैनिक तथा स्थानीय संघ संस्थाका पदाधिकारीहरुसँग भेटघाट गर्दै यो चलचित्रबारे जानकारी दिएको छ । यस्तै बिभिन्न स्थानहरुमा पत्रकार भेटघाट तथा मिडिया प्रमोशन पनि गरिएको छ ।

प्रमोशनका क्रममा चलचित्रका निर्माता निर्देशक एवम् लेखक मिलन चाम्स, अभिनेता रितेश चाम्स, अभिनेत्री रेबिका गुरुङलगायत सहभागी थिए । प्रमोशनका क्रममा स्थानिय सञ्चारकर्मी लगायत पूर्व ब्रिटिस सैनिक परिवारबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ ।

निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चार भाषामा रिलिजको तयारी रहेको चलचित्रको हाल हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको डबिङ्ग अन्तिम अबस्थामा पुगेको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रका निर्मातामा सुमन राई र सुस्मिता वाइवा, कार्याकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे र सहनिर्मातामा सुरेश राई रहेका छन् ।

चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन र सुदीप बरालको छायाँकन रहेको छ ।