Mansara

‘गोर्खा वारियर’ फागुन ११ गतेबाट प्रदर्शन हुने

२०८० पौष २४
‘गोर्खा वारियर’ फागुन ११ गतेबाट प्रदर्शन हुने

चलचित्र ‘गोर्खा वारियर’ फागुन ११ गतेबाट प्रदर्शन हुने भएको छ । मंगलबार चलचित्रका दुई पोष्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

मिलन चाम्स निर्देशित चलचित्रले दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकको बीरताको प्रस्तुत गरेको छ । गोर्खाको संघर्ष, बहादुरितासँगै पारिवारिक कथालाई समेत चलचित्रले समेटेको निर्देशक चाम्सले जनाएका छन् ।

यसै चलचित्रबाट अभिनयमा रितेश चाम्सले डेब्यु गरेका छन् । उनीसँगै चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । 

यसअघि चलचित्रको रेड कार्पेट प्रिमियर बेलायतमा गरिएको थियो । हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा)’ अवार्डका लागि समेत चलचित्र चयन भएको छ ।

निर्देशक चाम्सका अनुसार चलचित्र नेपालमा मात्र नभएर भारत र दक्षिण कोरियामा समेत प्रदर्शनका लागि प्रदर्शन राइट्स बिक्रि भइसकेको छ । यस्तै अमेरिकाको एउटा चर्चित वितरक कम्पनीले गोर्खा वारियरलाई भारत र कोरियाबाहेक विश्वव्यापी रुपमा रिलिज गर्दैछ । नेपाली, हिन्दी, अँग्रेजी गरी तीन भाषामा निर्माण भएको यो चलचित्रलाई अब कोरियन भाषामा पनि रिलिज गरिने भएको हो । 

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।