Mansara

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा

२०७८ फागुन २५
‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण घोषणा गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच अवार्ड सन् २०२२ जुलाई ३ तारिखमा अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने जानकारी दिइएको छ ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए)को संयुक्त आयोजनामा हुन लागेको अवार्डमा नेपाली चलचित्र र चलचित्रकर्मीलाई अवार्ड, सम्मन तथा प्रोत्साहन गरिने जनाइएको छ । यसपटक भुटानी कलाकर्मीलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।

‘एटिए एभरेष्ट इन्स्यूरेन्स’को प्रायोजन रहने कार्यक्रममा भुटानी चलचित्रको समेत प्रतिष्पर्धा रहने छ । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लका अनुसार यसपटक प्रतिष्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने भुटानी चलचित्रले पनि अवार्ड पाउने छन् ।

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित  हुन लागेको अवार्डलाई कलाकर्मीहरुको पूर्नमिलनका रुपमा समेत लिइएको छ । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको जमघट हुनुका साथै नेपाललाई सुन्दर छायाँकन स्थलका रुपमा प्रचार गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष मल्लले जनाएका छन् ।

कार्यक्रममा नीर शाह, शिव श्रेष्ठ, करिश्मा मानन्धर, अशोक शर्मा, उज्जवल घिमिरे, दिनेश डिसी, आर्यन सिग्देल, रविन्द्र खड्का, सरिता लामिछाने, अर्जुन पोखरेल, सुभाष थापा लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । सन् २०१६ बाट सुरु भएको अवार्ड २०२० र २०२१ मा भने कोरोनाका कारण आयोजना हुन सकेको थिएन ।