सिने पत्रकारितामा आचार संहिता र गोपनियता हकको बढ्दो उल्लङ्घन
केही वर्ष अघि भदौको दोस्रो साता एउटा अनलाईन पत्रिकाले सुत्रको हवाला दिदै एक चर्चित निर्देशक र एक नवोदित अभिनेत्रीको विवाह हुने पक्का भएको समाचार छाप्यो । त्यसको केही घन्टा नबित्दै अर्को एक अनलाईन पत्रिकामा ति निर्देशक र अभिनेत्रीले आफुहरूको विवाहको बारेका समाचार सत्य नभएको प्रतिक्रिया दिएको समाचार आयो । यसरी एउटा अनलाईन पत्रिकाले विवाह पक्का भनेको समाचार लगत्तै अर्को अनलाईन पत्रिकामा त्यो समाचार गलत ठहयाउँदै समाचार छापियो । यसरी समाचार सुत्रमाथि भर पर्दा सम्बन्धित अनलाईन पत्रिकाको समाचार गलत साबित हुन गयो । जबकी अर्को अनलाईनले सम्बन्धित निर्देशक र अभिनेत्रीसँग कुरा गरेर समाचार छाप्दा सत्य तथ्य बाहिर आयो । यसरी एक तर्फी समाचारले गर्दा चलचित्र पत्रकारिता प्रति कलाकारको विश्वास घट्दै गएको छ । समाचार सम्प्रेषण गर्दा सकेसम्म दुबै पक्षको भनाईलाई समेटिनु पर्छ भन्ने मान्यता छ । यहाँसम्मकी एकतर्फ भनाई मात्र समेटिएको समाचारलाई समेत पूर्ण मानिदैन ।
नेपाली चलचित्र पत्रकारितामा देखिएको अर्को समस्या भनेको पत्रकारिता आचार संहिता तथा गोपनियताको हकलाई पालना नगर्नु हो । केही वर्ष अघि अभिनेत्री प्रियंका कार्की देखि शिल्पा पोखरेलसम्मको स्कर्टमा भित्री बस्त्र देखिएका तस्विरहरू नेपाली अनलाईन सञ्चार माध्यममा आए, यस्ता तस्बीर छाप्नु पत्रकारहरूकै लागि लज्जास्पद कुरा हो । पत्रकारिताको आचार संहिता तथा गोपनीयताको हकले यस्ता तस्बिर छाप्न निषेध गरेको छ ।
अमेरिकी अखबार सम्पादक समाजले सन १९२३ मा पत्रकारिता सम्बन्धि ७ बुंदे सिद्धान्त तयार पायो । पत्रकारिताको पेशागत नीतिलाई पालना गर्नका लागि यो सिद्धान्त तयार पारिएको थियो । जसलाई ‘क्यानन्ज अफ जर्नालिजम्’ भनियो । ती सात बँदा मध्ये ६ नम्बर को स्वच्छता शिर्षकमा यस्तो लेखिएको छ – ‘समाचार संकलन सम्प्रेषणमा स्वेच्छता अन्तर्गत मानव अधिकारको सम्मान गर्ने, शिष्टता अपनाउने, पीडित र पिडक दुबैलाई आफ्नो प्रतिक्रिया राख्ने मौका दिने । गोपनीयताको सर्त पालना गर्ने, आफ्नो समाचारको जवाफदेही आफैं हुनु पर्नेछ ।’ यो बँदाले कुनै पनि समाचार छाप्दा पीडित र पीडक अर्थात समाचारमा समेटिएका सबै पक्षको भनाईलाई स्थान दिन पर्छ भनिएको छ । स्कर्ट लगाएर बसेका अभिनेत्रीको नियतबस भित्री कपडालाई खिचेर प्रकाशन प्रशारण गर्नुले पत्रकारितामा एकातर्फ अशिष्टता जनाउँछ । अर्कोतिर यसले गोपनीयताको हक हनन् गर्दछ । नेपालको अन्तरिम संविधान २०६३ को धारा २८ : गोपनीयताको हकमा लेखिएको छ, ‘कुनै पनि ब्याक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्राचार, चरित्रसम्बन्धी कुराहरूको गोपनीयता कानूनद्धारा तोकिएको अबस्थामा बाहेक कसैको पनि गोपनियताका यी हक हनन् गर्न पाईने छैन ।’ गोपनीयताको हक अन्तर्गत शारीरिक गोपनीयताको हकको बुंदामा यस्तो लेखिएको छ – ‘बलात्कारका घटनामा पीडितको गोपनियताको हक बनाउँदै उसको नाम, तस्बिर, परिचय सञ्चारमा ल्याउनु हुँदैन । जिउ ज्यानको गोपनियताको हकमा सम्बन्धित व्यक्तिलाई जानकारी नहुने गरी उसको सम्बेदनशिल गोप्य अंग प्रदर्शन भएका दृष्य, चित्र सञ्चारमा ल्याउनु हुँदैन । यदी ल्याउनै पर्ने अबस्था छ भने उसका गोप्य अंगहरू छोपेर, अस्पष्ट पारेर, कालो पोतेर मात्र ल्याउनु पर्छ । यस्तो अबस्थामा सम्बन्धित पीडित पक्षको मुहार पनि प्रस्ट देखाउनु हुँदैन ।’ यसरी कुनै पनि अभिनेत्रीको तस्बिर प्रकाशन गर्दा उसको भित्री बस्त्र देखिएको छ भने त्यस्ता तस्बिर छाप्नु हुँदैन भन्ने पत्रकारिताको आचार संहिता देखि गोपनीयताको हकमा समेत उल्लेख छ । तर, ठिक त्यसको उल्टो यहाँको सिने फोटो पत्रकारहरू स्कर्ट लगाएर बसेका अभिनेत्रीको अघि जमिनसम्म झुकेर स्कर्ट भित्रको भित्री बस्त्र देखिने फोटो खिच्छन् र यस्ता तस्बिरलाई आफ्ना अनलाईन सञ्चार माध्यममा ‘स्कुप तस्बिर’ भन्दै छाप्छन् ।
नेपालका स्याटेलाइट टेलिभिजन र दैनिक अखबारहरू यस्तो बिषयमा निकै सचेत छन् । अभिनेत्री तथा अभिनेताका गोपनीयताको हक हनन् हुने तस्बिर तथा एक तर्फीको मात्र भनाई राखेर यहाँका दैनिक अखबारले समाचार छापेको र टेलिभिजनले समाचार प्रशारण गरेको पाईदैन । तर अनलाईन पत्रिकाहरूमा गोपनीयताको हकभंग हुने यस्ता तस्बिर बेला बेलामा छापेको देख्न पाईन्छ ।
पत्रकारिता सम्बन्धि कानून तथा आचार संहिताको समाचारलाई तोडमोड गरेर ‘गसिप’ तथा पत्रकारितासम्बन्धि कानून तथा आचार संहिताको समाचारलाई तोडमोड गरेर ‘गसिप’ तथा ‘र्युमर’को रूपमा छाप्न समेत बन्देज गरेको छ । नेपाली सिने पत्रकारितामा गसिप समाचारको क्रम निकै फस्टाएको छ । कुनै कलाकार प्राविधिकका निजी कुरा तथा सिने क्षेत्रका प्रसँगलाई ‘सुन्नमा आए अनुसार’ तथा ‘बताइए अनुसार’ भन्दै गसिपको रूपमा समाचार छाप्ने गरिन्छ । यो गलत कार्य हो ।
यसरी गसिप छाप्दा युरोप अमेरिकाका कैयौँ पत्रिकाले सम्बन्धि कलाकारबाट मानहानी, गोपनियता हनन्, मानव अधिकार हनन्, झुटा समाचार प्रकाशन शिर्षकमा मुद्धा खेप्नु परेको छ । यस्ता अधिकांश मुद्धा सम्बन्धित कलाकारले जितेका छन् । कलाकारले मागेको क्षतीपूर्ती अनुसारको जरिवाना सम्बन्धित अखबारले तिरेको थुप्रै उदाहरणहरू छन् । त्यसैले युरोप, अमेरिकाका अखबारहरूमा पछिल्ला दशकमा गसिप समाचार छाप्ने क्रम निकै घटेको छ । गसिप समाचारलाई पनि उनीहरूले सम्बन्धि पक्षको भनाई राखेर मात्र छाप्छन् । सिनेकर्मीका चरित्र बारे नेपाली सिनेपत्रकारले बढी गसिप बनाउँछन् । जबकी चरित्र सम्बन्धि गोपनीयताको हकमा यस्तो लेखिएको छ – ‘चरित्रको हक गोपनीयताको हक हो । उसको चरित्र हत्या गर्नु तथा सञ्चार माध्यमबाट चरित्र हत्या हुने समाचार, तस्बिर, दृष्य प्रकाशन, प्रशारण गर्नु चरित्र सम्बन्धि गोपनीयताको हक हनन् गर्नु हो । यस्तो गर्नु हुँदैन ।’ तर, यो कुरामा नेपाली सिनेपत्रकारले हेक्का नपुर्याएका थुप्रै घटनाहरू छन् । माथि उल्लेख गरिएको एक निर्देशक र नवोदित अभिनेत्रीको विवाह हुने पक्का भन्ने समाचारमा पनि उनीहरूको चरित्र जोडिएको छ । यस्तो समाचार पुष्टि नगरी छाप्नु चरित्र सम्बन्धि गोपनीयताको हक हनन् मानिन्छ ।
गसिपको नाममा हुँदै नभएका समाचार छाप्ने, सुनेका भरमा समाचार बनाएर छाप्ने तर सुनेका कुरालाई पुष्टि गर्न जाँगर नदेखाउने क्रम नेपाली अनलाईन पत्रकारितामा बढी बढेको पाईन्छ । जसका कारण नेपाली सिने पत्रकारिता प्रति कलाकारहरूको विश्वास घट्दै गएको छ । त्यसैले चलचित्र पत्रकारितामा आचार संहिता र गोपनीयताको हकलाई पालना गर्नु पर्ने आवाज पछिल्लो समय उठ्ने गरेको हो ।
(आम सञ्चार तथा पत्रकारितामा स्नातककोत्तर क्षेत्री बरिष्ठ चलचित्र पत्रकार हुन् ।)
२०७२ साल भाद्र २६ गते सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१ को स्मारिका बाट साभार सहित सम्पादित
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
