उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ खुल्यो
फागुन १४ गते, महाशिवरात्रि को अवसरमा प्रदर्शन हुन लागेको चलचित्र ‘फेरि रेशम फिलिली’को बुकिङ खुलेको छ । चलचित्रले देशभरका मल्टिप्लेक्सहरुमा ८६ भन्दा बढी शो प्राप्त गरिसकेको छ । अन्य दुई चलचित्रसँगै रिलिज भइरहेको सन्दर्भमा यो संख्या उत्साहजनक नै हो । यसका लागि चलचित्रको ट्रेलर र गीतहरूको लोकप्रियताले ठुलो भूमिका खेलेको छ ।
प्राप्त ८६ शो मध्ये चलचित्रले काठमाडौं उपत्यकामा ४६ शो र बाहिर ४० शो पाएको छ । यो संख्या खल्ती मोबाइल एप मा देखिएको तथ्यांक हो । समाचार तयार पार्दासम्म खुलिसकेको हलहरूको आधारमा, भोलि मध्यान्हसम्म थप हलहरूमा शो निर्धारण भएपछि ‘फेरि रेशम फिलिली’ले १५० भन्दा बढी शो पाउने आंकलन गरिएको छ ।
२०७२ सालमा पहिलो पटक प्रदर्शन भएको ‘रेशम फिलिली’ ले आफ्नो ओपनिङ कलेक्सनमा कीर्तिमान कायम गरेको थियो । तर, भोलिपल्ट आएको विनाशकारी भूकम्पका कारण प्रदर्शन स्थगित भएर केही समयपछि पुनः रिलिज गरिएको थियो । त्यतिबेला फरक शैलीको कमेडी प्रस्तुत गरेको भन्दै चलचित्रको प्रशंसा गरिएको थियो । यसैको सिक्वेल भएकोले पनि ‘फेरि रेशम फिलिली’ प्रतिक्षित चलचित्र बन्न पुगेको छ ।
करिब ९ वर्षपछि सिक्वेल आउने भएकाले दर्शकमाझ कौतुहलता बढेको छ । यो पटक चलचित्रले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरेको छ । चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
निरोज महर्जनको कथा र निर्देशन रहेको चलचित्रमा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ । चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता रौनक विक्रम कडेल हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह–निर्मातामा एनि थापा रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


