Modibeni
Numbari Sun

प्रिमियरमा ‘फर्की फर्की’को तारिफ नै तारिफ

२०८१ जेष्ठ १०
प्रिमियरमा ‘फर्की फर्की’को तारिफ नै तारिफ

आजबाट रिलिज भएको चलचित्र ‘फर्की फर्की’को बुधबार साँझ राजधानीमा भव्य प्रिमियर गरिएको छ । राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा भएको प्रिमियरमा अनमोल केसी र जसिता गुरुङ स्टारर चलचित्र हेर्न चलचित्रकर्मी, पत्रकार, सञ्चारकर्मी तथा लब्धप्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति थियो । प्रिमियर पछि अधिकांशले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, निर्देशकको कामको तारिफ गरेका थिए ।

अभिनेता हरिवंश आचार्यले नेपालमा कोरियन प्याटर्नको चलचित्र बनेको महशुस भएको बताए । ‘चलचित्र प्राविधिक रुपमा अत्यन्तै राम्रो छ । निर्देशक सुयोग गुरुङ, नायक अनमोल केसी, नायिका जसिता गुरुङको काम धेरै राम्रो छ । चलचित्रले युवा भाईबहिनीलाई झन राम्रो लाग्नेछ । उहाँहरुलाई मनपर्यो भने आफ्नो बुवाआमालाई पनि बोलाएर ल्याई हाल्नुहुन्छ’, उनले भने ।

अभिनेता तथा निर्माता हरिहर अधिकारीले चलचित्रले आफ्नो मन छोएको बताए । ‘चलचित्र पूर्ण व्यावसायिक र साइन्स फिक्सन भएकाले पनि केही नयाँ छ,’ उनले भने । निर्मात्री तथा अभिनेत्री निता ढुंगानाले चलचित्र नयाँ अवधारणामा बनेकाले दर्शकले हेर्न आवश्यक रहेको बताइन् । ‘निर्माताले पनि धेरै ठूलो रिस्क लिएर यो चलचित्र बनाउनुभएको छ । सामान्यतया व्यावसायिक चलचित्रहरु चलिरहेका हुन्छन्, हिट भइरहेका हुन्छन् । तर यो किसिमको चलचित्रलाई बनाउन धेरै गाह्रो हुन्छ । त्यसकारण नेपाली निर्मातालाई दर्शकले साथ दिनुपर्छ’, उनले भनिन् ।

अभिनेता वीरेन श्रेष्ठले प्रेमकथाका चलचित्र दर्शकले हेर्न नपाईरहेको समयमा ‘फर्की फर्की’ले त्यो तिर्सना मेटाउने बताए । ‘चलचित्रमा नयाँ प्रयोग पाएँ । अनमोलको अभिनय गज्जब लाग्यो । प्रेमकथा मनपराउने दर्शकका लागि त्यो एउटा स्वादिलो चलचित्र बन्नेछ’, उनले भने, ‘चलचित्रमा देखाइएको समयको कुराले जोकोहीलाई छुन्छ । दर्शकका लागि चलचित्रले एउटा मिठो सन्देश पनि दिएको छ ।’ अभिनेत्री सुरक्षा पन्तले चलचित्र आफूलाई मनपरेको बताइन् । ‘बुलिङबाट स्टोरी बिल्ड अप भएको रहेछ । क्लाइमेक्सको टाइमिङ मनपर्यो । कलाकारको अभिनयमा कुनै खोट लगाउन छैन’, उनले भनिन् ।

निर्देशक वसन्त निरौलाले युवापुस्ताका लागि समय सापेक्षको चलचित्र बनेको बताए । ‘चलचित्रको मेकिङ, कलाकारको अभिनय, पाश्र्व संगीत, कथा, लोकेसन हरेक हिसाबले चलचित्र उत्कृष्ट बनेको छ’, उनले भने । निर्माता सुनिलकुमार थापाले ठूलो क्यानभासमा चलचित्र एकदमै राम्रो बनेको बताए । ‘निर्माताले दिल खोलेर चलचित्र बनाउनुभएको छ । निर्देशकले पनि राम्रो काम गर्नुभएको छ । छायांकन राम्रो छ । अनमोलको अभिनय ‘वाह’ नै छ । अन्य कलाकारको काम पनि अब्बल छ’, उनले भने ।

निर्देशक झरना थापाले अनमोलको अभिनय निखारिएकोमा खुशी व्यक्त गरिन् । ‘अनमोलको अभिनयमा धेरै सुधार भएको महशुस गरें । सबै पक्षले चलचित्र अब्बल छ’, उनले भनिन् । चलचित्रमा विशेष भूमिकामा देखिएका अभिनेता सलोन बस्नेतले चलचित्रले दर्शकलाई फ्रेसनेस दिने बताए । ‘नेपाली चलचित्रको इतिहासमा सायदै पहिलोपटक टाइम लुपको कथामा चलचित्र बनिरहेको छ । दर्शकले इन्जोय गर्नुहुनेछ’, उनले भने ।

अभिनेता सलिनमान बनियाँले चलचित्र आफ्ना लागि ‘अमेजिङ’ रहेको बताए । ‘चलचित्रमा टाइम लुपको कन्सेप्ट छ । सुरुदेखि अन्त्यसम्म राम्रो लाग्यो । मैले अनमोलको होस्टेलदेखि फर्की फर्कीसम्म आउँदै सबै चलचित्र हलमा नै हेरेको छु । फर्की फर्कीसम्म आइपुग्दा उसको अभिनय उत्कृष्ट छ’, उनले भने ।
चलचित्रका अभिनेता अनमोल केसीले हल भरिएका कारण आफूले चलचित्र हेर्न नपाए पनि चलचित्र हेर्नेको प्रतिक्रिया उत्कृष्ट पाएको बताए । ‘सबैजनाले राम्रो भन्नुभयो । मेयर बालेन दाई(बालेन शाह)ले पुरै चलचित्र हेरेर जानु भयो । त्यो हाम्रो ठूलो उपलब्धी हो’, उनले भने । अभिनेत्री जसिता गुरुङले आफूले ‘भयंकर’ प्रतिक्रिया पाएको बताइन् । ‘चलचित्रमा भएको टाइम लुपको कन्सेप्टमा जुन रेस्पोन्स आएको छ, त्यो एकदमै राम्रो छ’, उने भनिन् ।

चलचित्र हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपकराज गिरीलगायत पनि हल पुगेका थिए ।

Gharjwai