Mansara

चलचित्रका आयाम र पात्रबारेको पुस्तक ‘क्लोज–अप’ सार्वजनिक

२०७८ चैत्र ६
चलचित्रका आयाम र पात्रबारेको पुस्तक ‘क्लोज–अप’ सार्वजनिक

नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज–अप’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त पुस्तकको सार्वजनिकीकरण गरिएको हो ।

चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं चलचित्र निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

चलचित्र निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ । ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ति कालखण्डका चलचित्रकर्मीहरुको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ । 

कार्यक्रममा निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गरेका थिए । उनले ‘क्लोज–अप’ एउटा राम्रो दस्तावेज भएको बताउँदै नेपाली चलचित्रलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे । उनले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरुका अनुभवलाई समेट्न लेखकलाई सुझाएका छन् ।

कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुराहरु इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरुमा नलाग्ने बताइन् । ‘किताबको आफ्नै महत्त्व छ । आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु । किनकि, किताबमा म वास्तविकता भेट्छु । ‘क्लोज–अप’ले पनि नेपाली चलचित्रलाई थप नजिकबाट चिनाउनेछ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज–अप’ले नेपाली चलचित्रकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन् । निर्देशक दीपाश्री निरौलाले भने ‘क्लोज–अप’लाई आफूले नेपाली चलचित्र र चलचित्रकर्मीहरुको दस्तावेजको रुपमा लिएको धारणा राखिन् । उनले कार्यक्रममा भनिन्, ‘चलचित्रकर्मीहरुको यात्रा लाइमलाइटमा रहँदासम्म मात्र देखिन्छ । लाइमलाइटमा हुँदासम्म सबैले वाहवाही गर्छन् तर त्यसपछि हामी थियौं र रु भन्ने खालको स्थिति छ । ‘क्लोज–अप’ले चलचित्रकर्मीलाई लिपिवद्ध गरिदिएको महशुस गरेकी छु ।’

त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज–अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा ब्याख्या गर्दै भने, ‘नेपाली चलचित्र पत्रकारिता सतहीमात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढंगबाट लैजाने विश्वास लिएको छु । पुस्तकले नेपाली चलचित्रको समग्र इतिहास र पात्रलाई समेट्न नसके पनि भोलीका दिनमा अझ फराकिलो रुपमा पुस्तक ल्याउन म लेखकलाई आग्रह गर्छु । 

पुस्तकबारे कार्यक्रममा अभिनेता उत्तम प्रधान, निर्देशकहरु नारायण पुरी, दिनेश डिसी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतले पनि बोलेका थिए । कार्यक्रममा लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरु समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरु पुस्तकहरु पनि क्रमशः लेख्दै जाने बताए । 

कार्यक्रममा लेखक पराजुलीले भने, ‘मैले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु । यो एउटा सुरुवात मात्र हो । पुस्तकलाई पहिलो खण्डको रुपमा मात्र लिन सकिन्छ । पहिलो खण्ड यस अर्थमा कि चलचित्रको इतिहास झल्काउने धेरै कुराहरु लेख्न बाँकी नै छ । त्यस्ता धेरै व्यक्तित्वहरु हुनुहुन्छ, जसले नेपाली चलचित्रलाई आजको स्थानसम्म पुर्‍याउन योगदान दिनुभएको छ । उहाँहरुका बारेमा लेख्न बाँकी नै छन् ।’ 

कार्यक्रममा संचारकर्मीसहित चलचित्र क्षेत्रका साथै अन्य विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।