प्रधानमन्त्री ओलीद्वारा ‘सिनेपाः’को शिल्यान्यास

२०८२ बैशाख ३०
प्रधानमन्त्री ओलीद्वारा ‘सिनेपाः’को शिल्यान्यास

चलचित्र छायांकन स्टुडियो ‘सिनेपाः’को शिल्यान्यास गरिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले स्टुडियोको शिलान्यास गरेका हुन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा १० र १३ को ४२ रोपनी जग्गामा स्टुडियो निर्माण हुनेछ । उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न इन्डोर छायांकन स्टुडियो हुन जनाइएको छ ।

‘सिनेपाः’ चलचित्र क्षेत्रको मात्र नभएर सरकारको पनि सरोकारको विषय रहेको बताउै प्रधानमन्त्री ओलीले भने – ‘यो अत्याधुनिक स्टुडियोले नेपाली चलचित्र क्षेत्रलाई बदल्छ भन्ने विश्वास लिएको छु । यो एउटा क्रान्ति हो । चलचित्र क्षेत्रको युग परिवर्तन हो यो । यसमार्फत् हामी चलचित्र क्षेत्रको नयाँ युगमा प्रवेश गरेका छौं ।’ उनले ‘सिनेपाः’मा डबिङ र गायन स्टुडियोलाई समेत समावेश गर्न सुझाव दिए ।

कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर शाहले नेपाली चलचित्रले एउटा स्टुडियोका लागि ६ दशक कुर्नु परेको गुनासो गरेका थिए । उनको गुनासो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्टुडियो निर्माण गर्न ढिलाइ भएकोमा आफ्नो पनि कमजोरी रहेको स्वीकार गरे । ‘स्टुडियो बनाउन यति ढिला भएकोमा म आफ्नो पनि कमजोरी महसुस गर्छु । यति ढिलो हुनै नपर्ने हो,’ उनले अगाडि भने, ‘यो स्टुडियो बहुवर्षीय आयोजना हो । यसै वर्ष सकिँदैन । अर्को बजेटमा फेरि आउला । तर, अब स्टुडियो बन्छ । यसका लागि सरकारसँग जुन माग गरिएको छ, त्यो पूरा हुन्छ ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सकारात्मक सोच राखेमा असम्भव कुरा पनि सम्भव हुने धारणा राखे । सन् २०२६ भित्रै स्टुडियो निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।