मुकुन्दको निर्देशनमा ‘चोर पुलिसः टम एण्ड जेरी’ निर्माण हुने

२०८० बैशाख १३
मुकुन्दको निर्देशनमा ‘चोर पुलिसः टम एण्ड जेरी’ निर्माण हुने

चलचित्र ‘चोर पुलिसः टम एण्ड जेरी’ निर्माण हुने भएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी दिइएको हो । मुकुन्द भट्टको निर्देशनमा रहने चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, अर्पण थापा, शक्ति श्रेष्ठ र अनुप विक्रम शाही, कामेश्वर चौरसिया, सुपर गुरुङ, प्रमिला उप्रेती, इन्द्रप्रसाद खरेललगायतको अभिनय रहनेछ ।

कमेडी जनरामा निर्माण हुने चलचित्रमा मुख्य अभिनेत्री छनोट हुन भने बाँकी रहेको निर्देशक भट्टले बताएका छन् । अमेरिका, क्यानाडा, अष्ट्रेलिया र नेपालमा चलचित्रको छायाँकन हुनेछ । अहिले मुकुन्द ‘लोकेशन हन्टिङ’का लागि अष्ट्रेलियामा छन् । केही दिनअघि उनी क्यानाडा समेत पुगेका थिए ।

सुदिप चन्द्र बख्रेलले निर्माण गर्ने चलचित्रको लेखक मुकुन्द भट्ट, नरेश नाथ योगी र सुमन सुनार हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा दीपक आरजे  र राजु भट्टको संगीत रहनेछ । चलचित्रमा समिर खरेल र सुमन ढकाल कार्यकारी निर्मातामा छन् ।