चलचित्र ‘रिमै’को गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक

२०८२ भाद्र १७
चलचित्र ‘रिमै’को गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक

शुक्रबारबाट प्रदर्शनमा हुने चलचित्र ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ ।

गीतमा गायक गौतमकै संगीत, कवि श्रवण मुकारुङको शब्द रचना र नारायण दंगलको एरेञ्ज छ । भिडियोमा दयाहाङ राई र रिश्मा गुरुङका चल अचल दृश्य समेटिएका छन् ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिस्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

खिल बहादुर गुरुङको निर्देशन रहेको चलचित्रमा कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा, शैलेन्द्र ध्वज कार्कीको छायाँकन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।