फोन नम्बर दुरुपयोग गर्दा, अनमोल केसी र ‘फर्की फर्की’ टिम विरुद्ध मुद्दा

२०८२ आषाढ ९
फोन नम्बर दुरुपयोग गर्दा, अनमोल केसी र ‘फर्की फर्की’ टिम विरुद्ध मुद्दा

साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले चलचित्र ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । उनले सोमबार वारेसमार्फत रिट दर्ता गरेका हुन् ।

आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै उनले अभिनेता अनमोल केसी सहित निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति (सेन्सर बोर्ड), निर्माता रोहित अधिकारी लगायतलाई विपक्षी बनाएका छन् । रिटमा उनीहरूलाई कानून अनुसार सजायको माग गरिएको छ ।

कवि श्रेष्ठले चलचित्रमा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारिरिक रुपमा हानी पुगेको भन्दै उचित क्षतिपूर्तिको माग दाबी गरेका छन् । उनका अनुसार ओटीटी प्लेटफर्मबाट नम्बर हटाउन आग्रह गर्दा पनि नहटाइएको छैन । दिनमै सयौं नम्बरबाट फोन आउँदा आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर परेको रिट निवेदनमा उल्लेख छ ।

‘फर्की फर्की’मा अनमोलले अभिनेत्री जसिता गुरुङलाई आफ्नो नम्बर दिएको एक दृश्य छ । त्यो नम्बर निर्माण टिमले चलचित्रमा आफूखुसी राखेको थियो । चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज भएपछि त्यो नम्बर कवि श्रेष्ठको रहेको खुलेको हो । अहिले उक्त नम्बरसहितको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ ।