चलचित्रकर्मी र पत्रकारले रुचाए ‘बुलाकी’

२०७९ चैत्र ३०
चलचित्रकर्मी र पत्रकारले रुचाए ‘बुलाकी’

वैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’लाई स्पेशल स्क्रिनिङमा प्रशंसा मिलेको छ । बुधबार साँझ आयोजित शोमा ‘बुलाकी’ हेर्न पुगेका चलचित्रकर्मी र पत्रकारले यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरेका थिए ।

‘बुलाकी’ले मल्टिप्लेक्समा राम्रो शोज पाएको छैन । प्रदर्शकहरुले चलचित्रलाई चेपुवामा पारेको गुनासो निर्माताको छ । तर, चलचित्रले स्पेशल स्क्रिनिङमा पाएको प्रतिक्रियाबाट भने निर्माता उत्साहित छन् । ‘बुलाकी’ हेर्न पुगेका सांसद ज्ञानेन्द्र शाहीले चलचित्रले कलाकारको अभिनय र संवाद मार्फत कर्णालीको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको बताए ।

यस्तै निर्देशक दिनेश डीसीले पनि बुलाकीलाई उत्कृष्ट बनेको बताए । अभिनेता नीता ढुंगानाले चलचित्र हेर्दा छुट्टै आनन्दको अनुभुती भएको सुनाइन् । अनि अभिनेता हरिहर अधिकारीले पनि नेपाली चलचित्रमा मौलिक कथा भन्न आवश्यक रहेको सुनाए ।

अभिनेता पुष्प खड्का, गजित बिष्ट, राज कटुवाल, मुकुन भुषाल, निर्देशक ज्ञानेन्द्र देउजा लगायतले पनि चलचित्रले पुरा समय बाँधेर राखेको सुनाए । चलचित्रमा नायक नरेन खड्काले त सरप्राइज नै दिएका छन् । नरेनको अभिनयले दर्शकलाई प्रभावित बनाउँछ ।

अभिनेता सुरक्षा पन्त शक्तिशाली अभिनयका कारण हाबी छिन् । ‘बुलाकी’को कथा उनकै वरि परी घुमेको छ । प्रिमियर पछि डेव्यु निर्देशक लक्ष्मण सुनारले कर्णालीको कथा अझै धेरै भन्न बाँकी रहेको बताए ।  ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।