Mansara

यस्तो छ वि.एस. राणाको जीवनी

२०७५ माघ १८
यस्तो छ वि.एस. राणाको जीवनी

चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा शुक्रबार बिहान राणाको निधन भएको हो । यस्तो छ ७८ वर्षको उमेरमा निधन भएका राणाको जीवनी ।

जन्म
सन् १९४१ सालमा काठमाडौंको विशालनगरमा कलाकार वि.एस. राणाको जन्म भएको हो  । उनका पिता जनरल नरेन्द्र शमशेर माता रानी राजकुमारी देवी हुन्  ।

अध्ययन
काठमाडौंमा जन्मेपनि ७ वर्षकै उमेरमा राणा आफ्ना दाजुसँग अध्ययनको लागि देहरादुन गएका थिए  । त्यसपछिको शिक्षा दार्जिलिङस्थित एक विद्यालयबाट प्राप्त गरे ।

बाल्यकाल मै थियो कला प्रतिको मोह
त्यसो त कलाकार वि.एस. राणा बाल्यकाल देखि नै कलाकारितामा रुचि राख्थे । सानोमा संगीत र नृत्यमा उनको रुचि थियो । संगीत प्रतिको रुचिका कारण उनले लुकेरै हार्मोनियम बजाउन सिकेका थिए । संगीतमा रुचि भएका कारण राणा बाल्यकालमा त्यसैमा रम्न चाहन्थे । उनका बुबाले हार्मोनियम छुन नदिने तर उनलाई हार्मोनियमको धुन एकदमै मन पथ्र्यो । यसैले उनले हार्मोनियम राखिएको स्थानमा लुकी लुकी जाने र बजाउने गर्थे  । यसरी बजाउँदै गर्दा एकदिन हार्मोनियम छोएका मात्र के थिए बुबाले देखे  । पहिला त बुबाले रिसाएको आवाजमा उनलाई हार्मोनियम किन छोएको भनि सोधे तर त्यहीं रहेकी आमाले उनलाई हार्मोनियम बजाउन आउँछ भनेपछि बुबाले पनि बजाउन भने  । अनि राणाले हरेराम हरेकृष्णको धुन बजाए  । उनका बुबाले सक्दो रहेछ भनेर हार्मोनियम बजाउन पनि दिए  । यसरी बाल्यकालमा उनले आफ्नो संगीतप्रतिको रुचि पूरा गर्नेतर्फ लागे  । त्यसो त उनलाई बाल्यकालमा सिनेमा हेर्न पनि रुचि थियो  । सिंहदरबारभित्र एउटा भवन थियो जहाँ राणा परिवारका सदस्यहरूले सिनेमा हेर्ने गर्थे  । उनी पनि कहिलेकाहिँ त्यहीं गएर सिनेमा हेर्थे  । सानैमा उनले हलिउडको जोन विन अभिनित चलचित्र हेरेका थिए  । त्यो चलचित्र हेरेको पल राणाले अझै सम्झेका छन्  । लाखे नाच हेर्ने गरेका राणलाई त्यो नाचले आर्कर्षित गरेपछि उनी कोठामा लाखेकै शैलीमा नाच्ने गर्थे  । यसरी लाखे नाचबाट उनमा नाचप्रतिको रुचि पनि बढ्दै गयो  ।

चलचित्रमा प्रवेश
अध्ययनकै क्रममा उनी मुम्बई पुगेका थिए । मुम्बई बसाईंका क्रममा समेत कलाकार राणाले त्यहाँका थियटरहरूमा काम गरेका थिए  । सन् १९७२–७३ तिरको कुरा हो विश्व बस्नेत राणाको कोठामा आए  । उनले राणालाई एकदमै ह्याण्डसम रहेको भन्दै आफूले नेपालमा चलचित्र खेलिसकेको र अब मुम्बईमा संघर्ष गर्न आएको बताए  । त्यसपछि १९८४ मा व्यापार गर्नका लागि राणा नेपाल आए  । उनी दरबारमार्गमा ड्राइभ गरिरहेका बेला बस्नेतले बोलाए  । त्यसपछि उनले आफूले चलचित्र बनाउन लागेको बताए  । यसपछि बस्नेतले निर्माण गरेको र तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘अन्याय’ बाट राणाले चलचित्रमा अभिनय यात्रा आरम्भ गरे  । त्यो चलचित्रमा उनलाई तिन चार सिनमा अभिनय गर्ने शर्त थियो तर डिआइजीको एक सिनमा अभिनय गराइयो  । तैपनि उनलाई अन्यायका डिआइजीको रूपमा चिन्न थाले दर्शकहरूले  । त्यसपछि घिमिरेकै निर्देशन रहेको चलचित्र ‘कोसेली’मा राणाले अभिनय गरे  । त्यतिबेला घिमिरेले राणालाई एक सिन मात्र छ र त्यो सिनमा उनीबाहेक अरुले अभिनय गर्न नसक्ने बताएपछि उनले त्यो चलचित्रमा पनि एक सिनमा अभिनय गरे  । ‘चिनो’लगायतका चलचित्रमा अभिनय गरी निरन्तर अभिनय यात्रामा रहेका राणालाई उगेन छोपेल निर्देशित भुवन केसीको ‘नेपाली बाबु’मा गरेको भूमिका एकदमै उत्कृष्ट लाग्छ । त्यो चलचित्रमा राणाले निभाएको भूमिकामा उनले आफ्नो कला देखाउन पाएका थिए रे  ।

प्रेम र बिबाह
पारिवारिक कुरा गर्दा राणले प्रेम विवाह गरेका थिए  । उनको र उनकी श्रीमतीको पहिलो भेट एउटा मेलामा भएको थियो  । काठमाडौंमा हुने मेलाहरूमा त्यसबेला राणाहरू बाहिर त्यति धेरै निस्कन हुँदैन भन्ने समयमा उनीहरूको भेट भएको थियो  । त्यसको केही वर्षपछि उनले विवाह गरे  । त्यसो त विवाह पछाडि उनलाई कुनै दिन पनि कलाकारितामा लाग्न हस्तक्षेप पनि नभएको र सहयोग पनि नमिलेको बताउँछन्  । कहिलेकाहिँ राणाका छोरीहरू उनी अभिनित चलचित्र हेर्न गएका छन् उनीसँगै  । 

शिक्षण पेशामा राणा
राणा शिक्षण पेशामा पनि आबद्ध थिए । तत्कालीन समयमा नेपाल टेलीभिजनमा समाचारवाचक रहेकी रानी गुरुङले सञ्चालन गरेको शुभतारा स्कुलले ए लेभल सञ्चालन गर्ने भएपछि उनै गुरुङको अफरअनुसार राणा शिक्षण पेशामा होमिए  ।

राणाले अभिनय गरेका चलचित्रको बिस्तृत जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

कति कुराहरू निर्देशकले सिकाउन नसक्ने र सिकाएर पनि सिक्न नसकिने भएकोले राम्रो निर्देशकले कलाकारलाई निर्देशित गर्न नखोज्ने उनको बुझाइ छ  । आफ्ना माता पिताकै कारण आफ्नो जीवन सवल र सक्षम भएको राणाले बताउने गर्थे ।

Mahajatra