रामकृष्णको ‘मालती मंगले’मा विजय र वर्षा अनुबन्धित

२०८२ आषाढ १३
रामकृष्णको ‘मालती मंगले’मा विजय र वर्षा अनुबन्धित

गायक रामकृष्ण ढकालका निर्माण रहने चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । शुक्रवार बराल र राउतसँग कागजी सम्झौता भएको हो ।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण हुन चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् भने कथा निर्देशक पाण्डेयकै हो । 

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा महेश पौडेलको छायाँकन, रोमी तण्डुकारको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, राजेन्द्र थापाको गीत रचना र राजनराज सिवाकोटीको सङ्गीत रहनेछ ।

भदौको पहिलो हप्तादेखि छायाँकन हुने जनाइएको चलचित्र पारिवारिक प्रेमकथामा आधारित हुने निर्देशक पाण्डेयले जनाएका छन् । चरित्र निर्माणको लागि विजय र वर्षाले करिब ३ महिना समय दिने जनाइएको छ ।