‘वसन्त’ मार्फत निर्देशनमा डेब्यु गर्दै प्रकाश

२०८१ बैशाख २३
‘वसन्त’ मार्फत निर्देशनमा डेब्यु गर्दै प्रकाश

गायक प्रकाश सपूतले निर्देशन गर्ने चलचित्र ‘वसन्त’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच टिजर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।  प्रकाशकै लेखन रहने चलचित्रको टिजरले यसको कथासार बुझाएको छ ।

चलचित्रले वर्ण व्यवस्था र जात व्यवस्थाले सदियौंदेखि पिल्सिएको एउटा तप्काको कथा भन्ने टिजरले प्रष्ट पारेको छ । चलचित्रमा प्रकाश शिर्ष भूमिकामा छन् भने उनको जोडीका रुपमा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्नेछिन । लेखनप्रति रुचि भएका विश्वकर्मा परिवारका वसन्त (प्रकाश) र कथित उपल्लो जातकी शान्ति (स्वस्तिमा) बीचको प्रेमलाई पनि टिजरमा देखाइएको छ । 

प्रकाशले आफ्नो भोगाईको चित्रण ‘वसन्त’मा गरिएको जानकारी गराए । उनले भने– ‘मैले जस्तो जीवन भोगेँ, त्यसैको चित्रण चलचित्रमा गरिएको छ । त्यसलाई अलिकति फिल्मांकन गरेका छौं । केही वास्तविक घटना–परिघटनालाई पनि बुनिएको छ । चलचित्रमा त्यस्तो उतार–चढाव छैन । फूलफूल गाँसेर माला बनेजस्तै हाम्रा दुःख–सुःख गाँसेर ‘वसन्त’ बनेको छ ।’

आगामी चैते दशैंलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपालको पनि अभिनय रहनेछ । मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन कार्यकारी निर्माता रहेको चलचित्र गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ । प्रकाशकै प्रस्तुति रहने चलचित्रमा उनकै संगीत रहने छ ।

LPT
Mansara