यस्तो छ ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’को कलेक्सन

२०८२ असोज २२
यस्तो छ ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’को कलेक्सन

फूलपाती (असोज १३) देखि प्रदर्शनमा आएका तीन वटा चलचित्रको बक्स अफिस रिपोर्टलाई लिएर अनेकौं टिप्पणी भइरहदा चलचित्र विकास बोर्डले आधिकारिक रिपोर्ट सार्वजनिक गरेको छ ।

बोर्डले प्रदर्शनरत् चलचित्रहरु ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’को ८ दिनको व्यापारिक आँकडा सार्वजनिक भएको छ । बुधबार चलचित्र विकास बोर्डले असोज १३ गतेदेखि २० गते राति ११ः५५ बजेसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।

तीन चलचित्र मध्ये ‘बलिदान’को ब्यापार बढी छ । यो चलचित्रले ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपैयाँको ब्यापार गरेको छ । देशभरका हलहरुमा  १ लाख १९ हजार ५ सय ६१ वटा टिकट बिक्री भएको बोर्डको रेकर्डमा देखिन्छ । यस्तै ‘हरिबहादुरको जुत्ता’ले ३ करोड २१ लाख ७० हजार १ सय ६० रुपैयाँको ब्यापार सहित दोस्रो स्थानमा छ । यो चलचित्रको ९० हजार ९ सय ४७ वटा टिकट बिक्री भएको छ । त्यस्तै, ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६ सय ९२ रुपैयाँको ब्यापार गरेको छ । यो चलचित्रको ६८ हजार ३२ वटा टिकट बिक्री भएको बोर्डले सार्वजनिक गरेको रिपोर्टमा देखिन्छ ।

बोर्डका अनुसार सार्वजनिक बक्स अफिस रिपोर्ट वार्षिक अध्यावधिक समेत भएका चलचित्र घरका पर्दाहरुको हो । यसबाहेक कुनै स्थानमा फिल्म प्रदर्शन भएको पाइएमा कारबाही गरिने बोर्डले जनाएको छ ।