Mansara

‘बद्री बहादुर’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक

२०८० फागुन ९
‘बद्री बहादुर’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक

चलचित्र ‘बद्री बहादुर’को दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शोभित बस्नेतको निर्देशन रहेको चलचित्र आगामी चैत्र २३ गते प्रदर्शन हुनेछ । निर्माण टिमले यसअघि पटक पटक प्रदर्शन मिति सरेपनि अब भने घोषित मितिमै चलचित्र प्रदर्शन गर्ने जनाएको छ ।

पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नु होला’ लेखिएको छ । यसैले पनि यो चलचित्र हास्य प्रदान रहेको बुझ्न सकिन्छ । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । चलचित्रमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ । यस्तै अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । यही चलचित्रबाट एलिना गुरुङले नेपाली चलचित्रमा ‘डेव्यु’ गरेकी छिन् ।

चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन, विनोद सापकोटाको छायांकन र समिर मियाँको सम्पादन रहेको छ । चलचित्रको छायाङ्कन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाका विभिन्न ठाउँमा गरिएको हो ।