Mansara

आयुष्मान अभिनित चलचित्र लगातार फ्लप ! अपबाद - ‘चंगा चेट’

२०७६ आषाढ २६
आयुष्मान अभिनित चलचित्र लगातार फ्लप ! अपबाद - ‘चंगा चेट’

अभिनेता आयुष्मान देशराज जोशीको चलचित्र यात्रा खासै सुखद रहन सकेन । सन् २०१६ को चलचित्र ‘चपली हाइट २’ बाट डेव्यु गरेका आयुष्मानले यो बिचमा पाँच चलचित्रमा अभिनय गरिसकेका छन् । ति मध्ये चार चलचित्र प्रदर्शनमा आइसकेका छन् । जसमध्ये एउटा चलचित्रले लगानी सुरक्षित गरेपनि अरु सबै चलचित्र फ्लप भए । आयुष्मानले आफ्नै दममा दर्शकलाई हलसम्म तान्ने क्षमता देखाउन सकेनन् ।

आयुष्मानको डेव्यु चलचित्र ‘चपली हाइट २’ बक्सअफिसमा पत्तासाफ भयो । त्यसको २ वर्ष पछि सन् २०१८ मा आयुष्मान अभिनित दोस्रो चलचित्र ‘कथा काठमाडौं’ प्रदर्शनमा आयो । ‘कथा काठमाडौं’को व्यापार त ‘चपली हाइट २’को भन्दा पनि टिठलाग्दो भयो ।

‘कथा काठमाडौं’ले आयुष्मानको चलचित्र यात्रामा व्यवसायिक सफलता नदिएपनि यही चलचित्रको क्रममा उनको जीवनमा अभिनेत्री प्रियंका कार्कीको आगमन भयो । उनीहरु प्रेममा रहे पछि भने आयंका जोडीका रुपमा सामाजिक सञ्जालमा चर्चामै छन् । खासगरि प्रेम सम्बन्धका कारण ।

सन् २०१८ मै आयुष्मान अभिनित चलचित्र ‘चंगा चेट’ प्रदर्शनमा आयो । ‘चंगा चेट’ले लगानी सुरक्षित गर्यो । बिदेशी बजारको व्यापारबाट केही कमायो पनि । तर, त्यसको क्रेडिट आयुष्मानले पाएनन् । कारण ‘चंगा चेट’मा मल्टी स्टारको अभिनय थियो ।

हुन त ‘कथा काठमाडौं’ र ‘चंगा चेट’मा प्रियंका कार्कीको पनि अभिनय थियो । तर, आयुष्मान र प्रियंका अनस्कृन जोडी थिएनन् । २०१९ मा अर्थात गत जेष्ठ अन्त्यमा प्रियंका र आयुष्मानको अनस्कृन रोमान्स रहेको चलचित्र ‘प्रेम दिवस’ प्रदर्शनमा आयो । चलचित्र प्रदर्शन अघि हल्ला खल्ला पनि गर्यो निर्माण टिमले । तर, चलचित्रले शुक्रबार, शनिबार नै दर्शक पाउन सकेन । यो चलचित्र पनि बक्स अफिसमा पत्तासाफ भयो । जसका कारण आयुष्मानले बक्स अफिस सफलताको स्वाद कस्तो हुन्छ थाहा पाउनै सकेनन् भनियो भने पनि अन्य अर्थ नलगाए हुन्छ । किनकी उनी अभिनित चलचित्र एकपछि अर्को फ्लप भएका छन् ।

आयुष्मान अभिनित पाँचौं चलचित्र ‘सानो मन’ शुक्रबारबाट प्रदर्शन हुँदैछ । यो पनि फ्लप भएमा आयुष्मानको अभिनय यात्रामा अर्को फ्लप चलचित्र थपिने छ । त्यसैले यो चलचित्र प्रति उनको ठूलो भरोसा देखिन्छ । तर, चलचित्रको गीत संगीत र ट्रेलरले पाएको चर्चा र सफलताका आधारमा चलचित्रको व्यापारको पूर्वानुमान थोरै भएपनि गर्न सकिन्छ । पछिल्लो समय युट्युवमा यसका गीतसंगीतले पाएको भ्यूज र चर्चाका आधारमा भन्ने हो भने बक्स अफिसमा सफल हुन हम्मे हम्मे पर्ने देखिन्छ, यद्यपी चलचित्र चलोस् ।

Mahajatra