जेनजीको प्रदर्शनलाई कलाकारहरुको समर्थन, अनमोल भन्छन् ‘हाम्रो अधिकार कसैले रोक्न सक्दैन’
जेनजी पुस्ताले भोलि (सोमबार) गर्न लागेको भ्रष्टाचार विरोधी प्रदर्शनलाई कलाकारहरुले समर्थन जनाएका छन् । काठमाडौंस्थित माइतीघर मण्डलामा हुन लागेको आन्दोलनलाई कलाकारहरुले समर्थन र ऐक्यबद्धता जनाउँदै त्यससम्बन्धी पोस्टहरु सामाजिक सञ्जालमा सेअर गरिरहेका छन् ।
अभिनेता अनमोल केसीले जेनजी पुस्ताले आफ्नो फेसबुक पोस्टमार्फत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने प्रयासको कडा आलोचना गरेका हुन् ।
केसीले नेपाली नागरिकहरू चुप लागेर नबस्ने भन्दै सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता र आवाजलाई दबाउन खोजिए अझ ठूलो स्वरमा उठ्ने बताएका छन् । उनले लेखेका छन् – ‘हाम्रो अधिकार कसैले रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन ।’
उनले नेपाली नागरिकको आवाजलाई बेवास्ता गर्न नसकिने बताउँदै सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध चिन्ताजनक रहेको उल्लेख गरेका छन् । अनमोलले एकता, शान्ति र दृढताका साथ आवाजलाई दबाइने नभई सुनिएको नेपालका लागि एकसाथ उभिन आह्वान गरेका छन् ।
उनले आफ्नो पोस्टमा #आवाज उठाउने पुस्ता, #जेनजेडको सङ्घर्ष र #भोलिको भेला_हाम्रो भविष्य जस्ता ह्यासट्यागहरू पनि प्रयोग गरेका छन् ।
यस्तै अभिनेत्री वर्षा सिवाकोटीले पनि आन्दोलनको पोस्टर फेसबुकमा सेअर गर्दै ‘साङ्लो तोड्नुस्, दाग हटाउनुस्’ भनेर उल्लेख गरेकी छन् । अर्की अभिनेत्री नीति शाहले ‘जेनजी विद्रोह’लाई समर्थन जनाउँदै इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेअर गरेकी छन् । अभिनेत्री दिव्या रायमाझीले पनि अब चुप लागेर नबस्ने भन्दै ‘जेनजी विद्रोह’लाई परिवर्तनको दिशामा एउटा महत्त्वपूर्ण कदम भनेकी छन् ।
त्यस्तै, र्यापर तथा काठमाडौं महानगरपालिका मेयर बालेन शाह, निर्देशक निश्चल बस्नेत, अभिनेत्रीहरु आँचल शर्मा, ऋचा शर्मा, गायकहरु सञ्जय श्रेष्ठ, शिव परिवार, एकदेव लिम्बू, गायिका रचना रिमाल, कमेडियन सुजिता श्रेष्ठ, कथावाचक तथा अभिनेता साइग्रेस पोखरेल लगायतले पनि जेनजी पुस्ताको आन्दोलनलाई समर्थन जनाएका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
