आफ्ना चलचित्रको १० करोड ब्यापार बारे अनमोल – जुन दिन देखिएला त्यही दिन सेलिब्रेट गरौला

२०८२ भाद्र १०
आफ्ना चलचित्रको १० करोड ब्यापार बारे अनमोल – जुन दिन देखिएला त्यही दिन सेलिब्रेट गरौला

नेपाली चलचित्रका सार्वाधिक महङ्गा चकलेटी नायक हुन् अनमोल केसी । ५० लाख पारिश्रमिक लिने अनमोललाई चलचित्र खेलाउन मेकरहरुले ७० लाख सम्म अफर गरेको खबर सुनिएकै छ ।

मेघास्टारको ट्याग समेत भिराएका अनमोलका चलचित्रको बक्स अफिस कलेक्सन भने उनको पारिश्रमिक जस्तो उच्च छैन । केही समय अघि चलचित्र बिकास बोर्डले नेपाली चलचित्रको इतिहासकै सबैभन्दा बढी ब्यापार गर्ने २५ चलचित्रलाई सम्मान ग¥यो । जुन लिष्टमा १० करोड भन्दा बढीको व्यापार गरेका चलचित्रहरु अटाएका थिए । त्यो लिष्टमा अनमोल अभिनित एउटै चलचित्र थिएन ।

त्यही समय यो विषयले चर्चा पाएको थियो । बिभिन्न थरी टिका टिप्पणी पनि भएका थिए । तर, अनमोल भने यस विषयमा मौन नै थिए । सोमबार भने अनमोलले यसबारेमा आफ्नो धारणा राखेका छन् ।

राजधानीमा आयोजित अनमोल अभिनित चलचित्र ‘जेरीः टप अन’को पत्रकार सम्मेलनमा अनमोललाई पत्रकारले बक्स अफिसको प्रश्न गरे । प्रश्न अनमोलका चलचित्रलाई हिट त भनिन्छ तर, १० करोड माथीको आँकडा देखिएन भन्दै उक्त आँकडा पार गर्न कत्तिको रहर छ भन्ने आशयको थियो । यो प्रश्नमा अनमोलले अहिले सम्म उक्त आँकडाको ब्यापार नभएरै नदेखिएको होला भन्ने जवाफ दिए ।

उनले आफुले कर्म गर्ने तर फलको त्यति आशा नगर्ने बताए । यद्यपी बजारले चलचित्रको व्यापारलाई पनि हेर्ने रहेछ भन्दै उनले भने – ‘जुन दिन देखिएला त्यही दिन सेलिब्रेट गरौला ।’

फेरी पनि उनलाई १० करोड भन्दा बढीको ब्यापार गर्नुपर्छ भन्ने दबाब छ कि छैन भन्ने प्रश्न गरियो । उनले यो प्रश्नमा बक्स अफिस कलेक्सनको दबाबमा आफु नरहेको भन्दै दर्शकको माया ठुलो भएको प्रतिक्रिया दिए । उनले भने – ‘१२ वर्ष देखि दर्शकले निरन्तर माया दिइरहनु भएको छ । मेरा लागि बिजनेश भन्दा पनि यो माया नै ठुलो अचिभमेण्ट हो ।’