कान्सको मार्केटमा स्टल राख्दै नेपाली चलचित्र ‘एक्लो’

२०८२ बैशाख २८
कान्सको मार्केटमा स्टल राख्दै नेपाली चलचित्र ‘एक्लो’

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण अन्र्तगत प्रोड्युसर्स नेटवर्कमा छानिएका निर्देशक प्रदिप शाही आइतबार फ्रान्सको राजधानी पेरिस पुगेका छन् ।

मंगलबार अर्थात मे १३ देखि २४ तारिखसम्म फ्रान्सको दक्षिणी सहर कान्समा आयोजना हुने फेष्टिवलमा शाहीले आफु निर्देशित चलचित्र ‘एक्लो’को स्टल राख्ने भएका छन् । चलचित्रको टिमले कान्सको मार्केटमा अन्तर्राष्ट्रिय वितरकहरुलाई टिजर र छायांकनका दृश्य देखाउँदै विश्वव्यापी वितरणबारे मार्केटिङ गर्नेछ । सम्भवतः यो फेस्टिभलमा स्टल राख्ने पहिलो नेपाली चलचित्र ‘एक्लो’ हो ।

स्टलमा नेपालको झन्डा समेत राख्ने तयारी छ । निर्देशक शाही भने –  ‘हामीले यस वर्षको कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौँ ।’ कान्स सुरु हुनुअघि नै ७ अन्तर्राष्ट्रिय वितरकले चलचित्रबारे रुचि राखेको निर्देशक शाहीले बताए । उनका अनुसार, वेबसाइटमा जानकारी हेरेर ४ अमेरिकी, २ जापानी र एक भारतीय वितरण कम्पनीले प्रस्ताव राखेका छन् । निर्देशक शाही सँगै कान्स मार्केटमा निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट र बजारीकरण प्रमुखको रुपमा चपलचित्रकी अपरेटिभ डिरेक्टर रिश्ता कार्की सहभागी हुनेछन् । 

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली लगायतको अभिनय छ । बेलायती कलाकार जेमी बेकन पनि महत्त्वपूर्ण रोलमा छन् ।