‘वर एण्ड बधु’मा आँचलको एक्सन

२०८१ बैशाख २७
‘वर एण्ड बधु’मा आँचलको एक्सन

दोस्रो चरण अन्र्तगत छायांकन भइरहेको चलचित्र ‘वर एण्ड बधु’मा नायिका आँचल शर्मा एक्सन भूमिकामा देखिएकी छिन । बिहिबार मुलपानी क्रिकेट ग्राउण्ड नजिकै एक प्यालेसमा नवनायक विवेक कर्माचार्य र आँचलको दृष्य छायाँकन गरिएको छ । जहाँ आँचलले जमेरै एक्सन गरिरहेको देखिन्थ्यो । 

द्वन्द्व निर्देशन गरिरहेका निर्देशक हिमाल केसी र छायांकार सुदिप बराल आँचल र विवेकको प्रशंसा  गरेर थाकेनन् । हिमालले भने–‘आँचल शर्माको काम गर्ने शैली गज्जब लाग्यो । एक्सनमा उनले जुन तरिकाले काम गरिन्, त्यसबाट के पुष्टि हुन्छ भने उनी सोलो एक्सन चलचित्रमा पनि काम गर्न तयार छिन् । विवेकले गरेको एक्सन देखेर दर्शकहरु दंग पर्नुहुनेछ । उनी कही कतैबाट पनि नयाँ देखिदैनन् ।’

नायिका आँचल शर्माले आफूलाई जुन तरिकाको एक्सन गर्न मन लागेको थियो त्यस्तै काम गर्न पाएको बताइन् । ‘मलाई पहिले नै एक्सनका लागि तयार भएर एक्सन गरे जस्तो भूमिका गर्न मन थिएन । ५ इन्चको हिल जुत्ता, फेन्सी पहिरन लगाएर म एक्सन गरिरहेकी छु । म भित्र एक्सनका लागि इनर्जी उस्तै छ । रमाइलो भइरहेको छ ।’ आँचलले भनिन् ।

यता, नायक विवेक कर्माचार्य पनि काम निकै राम्रो भएको भन्दै दंग देखिए । उनले, चलचित्रका लागि प्याक्स समेत बनाएका छन् । यसका लागि उनले नुन छाडेको चार साता भयो । दिनमा एक लिटर मात्र पानी पिएका छन् । चिनी र तेल छोएकै छैनन् । विवेक चलचित्रबाट निकै आशावादी सुनिए ।

रोमानियामा पहिलो चरणको छायांकन सकेर केही समय ब्रेक गरेपछि निर्देशक मिलन चाम्सले दोस्रो चरणको छायांकन गरिरहेका छन् । मिलनका अनुसार, अझै एक साता भन्दा बढी समय छायांकनका लागि लाग्ने बताए । दुई वटा गीतको छायांकन सकेपछि सम्पूर्ण छायांकन सकिने मिलनको भनाई छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार भइरहेको चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । छायांकन सकिएपछि चलचित्रको प्रदर्शन मिति तोक्ने तयारी मिलनको छ । 

LPT
Gaun Aayeko Bato