Namrata Shrestha   
Movie's Credit : Cast / Special Appearance / Playback Singer

News

नेपाली चलचित्र हाँक्ने छोरीहरु

बिष्णु सुबेदी २०७७ मंसिर ७
नेपाली चलचित्र हाँक्ने छोरीहरु

नेपाली चलचित्रमा नारि उपस्थिति जति शशक्त हुँदै गइरहेको छ सोही अनुरुप छोरीहरुको उपस्थिति पनि अर्थपूर्ण देखिदै छ । हामीले यहाँ कुरा गर्न खोजेको छोरी अर्थात दोस्रो पुस्ताका नारिहरुको हो ।

दोस्रो पुस्ताले आफ्नो पकड बलियो बनाउँदै लगेको समयमा छोरीहरुको सफलता पनि लोभ लाग्दो छ । छोरीलाई लक्ष्मीको अवतारका रुपमा सम्झी उनीहरुकै नामबाट चलचित्र निर्माण कम्पनीको नाम राख्ने वा निर्माता, सहनिर्माता लगायतमा छोरीहरुको नाम राख्ने चलन अब पुरानो भइसक्यो । अहिले त चलचित्रलाई हाँक्ने जिम्मेबारी समेत छोरीहरुले कुशलता पूर्वक निभाइसकेका छन् ।

 

नम्रता श्रेष्ठ


नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका लागि सफल नाम हो । उत्कृष्ट अभिनय क्षमता भएकी नम्रताको सौन्दर्यको पनि उत्तिकै तारिफ हुन्छ । उनै अभिनेत्री नम्रता श्रेष्ठका बुबा देबेन्द्र श्रेष्ठ पनि कला क्षेत्रमा सक्रिय थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । व्यवसायिक कलाकारिता नगरेपनि उनले केही ड्रामाहरु प्ले गरेका थिए । यसअर्थ नम्रताको पनि रगतमै कला छ भन्न सकिन्छ ।

 

सुहाना थापा


पहिलो चलचित्र ए मेरो हजुर ३ बाट नै अभिनय कौशलता प्रर्दशन गर्न सफल भएकी सुहाना थापा पनि दोस्रो पुस्ताकी कलाकार हुन । निर्माता सुनिल कुमार थापा र कलाकार तथा निर्देशक झरना थापाकी छोरी हुन सुहाना । सन् २००२ को चलचित्र ए मेरो हजुरमा बाल कलाकारका रुपमा काम गरेकी सुहानाले सोही चलचित्रको तेस्रो सिक्वेलमा नायिकाको रुपमा काम गरिन ।

 

निकिता पौडेल


चलचित्र क्षेत्रको सर्बोच्च निकाय चलचित्र विकास बोर्डको पहिलो महिला अध्यक्ष रही सकेकी निकिता पौडेल पनि फिल्मी घरानाकै हुन । निकिता लामो समय देखि संस्थागत रूपमा चलचित्रको विकासमा क्रियाशील गोपिकृष्ण मुभिजका संस्थापक तथा निर्माता उद्धव पौडेल कि छोरी हुन । चलचित्र निर्माणका अलवा प्रशासनिक नेतृत्वमा अब्बल निकिताले बोर्डको पहिलो महिला अध्यक्षका रुपमा इतिहास बनाएकी छिन ।

गोपीकृष्ण मुभिजको अध्यक्ष समेत रहेकी निकिताले नेपालकै पहिलो चलचित्र ल्याब एनएफडिसीको अध्यक्षको जिम्मेबारी समेत सम्हालिसकेकी छिन । उनी चलचित्र क्षेत्रकै विषयवस्तुलाई मात्र समेट्ने गरि सञ्चालनमा रहेको रेडियो फिल्मी र टिभी फिल्मीको पनि अध्यक्ष हुन ।

 

केकी अधिकारी


एक्सप्रेसन क्वीन समेत भनिने अभिनेत्री केकी अधिकारीको पारिवारिक पृष्ठभुमि पनि चलचित्र नै हो । टेलिचलचित्र र ठुलो पर्दाका चलचित्रमा सफल निर्देशक बद्री अधिकारीकि छोरी हुन केकी । थुप्रै म्युजिक भिडियोहरूमा अभिनय गरिसकेपछि केकी चलचित्रमा आएकी थिइन । चलचित्रमा पनि केकी सफल मानिन्छिन ।

 

निरीशा बस्नेत


भारतिय टेलिचलचित्रमा समेत आफ्नो बलियो उपस्थिति जनाउन सफल निरिशा बस्नेत पनि चलचित्रकर्मीकै छोरी हुन । कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरीशाले चलचित्र जानी नजानीमा अभिनय गरेकी छिन । यद्यपी उनी नेपाली चलचित्र खेल्नु अघि भारतिय टेलिचलचित्रमा स्थापित भइसकेकी थिइन । उनी हाल मुम्बईमै बस्दै आएकी छिन ।

 

संगम विष्ट


संगम बिष्ट बाल कलाकारका रुपमा अब्बल नाम हो । केही वर्ष यता उनले चलचित्रमा काम गरेकी छैनन् । कारण बाल अबस्थाबाट टिनएजमा प्रवेश गर्नु र नायिका हुने अवस्था अझै नआउनु । यद्यपी बालकलाकारका रुपमा राष्ट्रिय चलचित्र पुरस्कार जित्ने एक मात्र दोस्रो पुस्ताकी छोरी हुन। संगम अभिनेता गजित विष्टकी छोरी हुन ।

 

जाहान्वी बस्नेत


जयकिशन बस्नेतकी छोरी जाहान्वी बस्नेतले पनि चलचित्रमा अभिनय गरेकी छिन । उनले सन् २०१६ को चलचित्र सुव्वा सापबाट अभिनय यात्रा शुरु गरेकी हुन् ।

 

रिश्ता बस्नेत


मेकअप आर्टिष्ट विपना बस्नेतकी छोरी रिश्ता बस्नेत पनि नायिका बनेकी छिन । रिश्ताले सन् २०१३ को चलचित्र होस्टलबाट डेब्यु गरेकी हुन । त्यसपछि अन्य ६ चलचित्रमा काम गरेकी रिश्ता पछिल्लो समय चलचित्रमा देखिन छोडेकी छिन ।

 

अरुणिमा लम्साल


कुनै समयकी हट अभिनेत्री अरुणिमा लम्सालकी आमा राधा लम्साल पनि कलाकार हुन । सन् २००३ को यस्तै रहेछ जीन्दगीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री अरुणिमाले झण्डै चार दर्जन चलचित्रमा काम गरेकी छिन । हाल उनी अमेरिकामा बस्दै आएकी छिन ।

 

सज्जा मैनाली


सन् १९९५ को चलचित्र दाजु भाई मार्फत अभिनय यात्रा थालेकी अभिनेत्री सज्जा मैनाली हाँस्य कलाकार स्वर्गिय गोपालराज मैनाली कि छोरी हुन । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेकी सज्जा अहिले भने विदेशीएकी छिन ।

 

रागिनी खड्गी


द्वन्द्व निर्देशक हुँदाहुँदै अभिनय पनि गर्न थालेका राजेन्द्र खड्गीकी छोरी रागिनी पनि नायिकाको रूपमा यस क्षेत्रमा आइन । सन् १९९८ को चलचित्र सगुनमा बाल कलाकारको रुपमा काम गरेकी रागिनीले चलचित्र प्लानबाट नायिकाको रुपमा डेब्यु गरेकी हुन् । हाल भने उनी अभिनयमा सक्रिय छैनन् ।

 

इश्वरी प्रधान


सम्पादक तथा निर्देशक शम्भु प्रधान र लेखक तथा कलाकार नुतन प्रधानकी छोरी इश्वरी प्रधान सन् १९८९ को चलचित्र बेहुली मार्फत यस क्षेत्रमा प्रवेश गरेकी हुन । बाल कलाकारको रुपमा आएकी इश्वरीले सन् २००० को चलचित्र सोह्र वर्षे जोवनबाट नायिकाको रूपमा डेव्यु गरिन । तर उनको उपस्थिति नायिकाको रुपमा अव्वल रहन सकेन ।

 

आश्मा दाहाल


अभिनेत्री आश्मा दाहाल कलाकार तथा लेखक प्रदिप दाहालकी छोरी हुन । सन् २०१५ को चलचित्र आभाष बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी आश्माले त्यसपछि नाइ न भन्नु ल ३ र रामप्यारीमा काम गरेकी छिन । हाल अभिनयमा सक्रिय नरहेकी आश्मा अमेरिकामा छिन ।

 

सलिना बस्नेत


कलाकार तथा निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले सन् २००५ को चलचित्र पापी मान्छेमा बाल कलाकारको रुपमा अभिनय गरि यस क्षेत्रमा पाइला राखिन । यस्तै उनले मुख्य भुमिकामा काम गरेको चलचित्र टिचर हलमा रिलिज नभए पनि च्यारिटी शो र बिशेष प्रदर्शनी भने भइसकेको छ ।

 

भारति घिमिरे


बरिष्ठ संगीतकार रञ्जित गजमेर र गीतकार कुसुम गजमेरकी छोरी भारति घिमिरे पनि चलचित्र कर्ममै व्यस्त छिन् । निर्देशक तुलसी घिमिरेसँग विवाह भएकोले पनि भारतिको चलचित्र यात्रा थप सहज भयो । उनी कलाकार, निर्माता, कथाकार तथा सहायक निर्देशकको रुपमा कार्यरत छिन ।

 

कविता मानन्धर


अभिनेत्री करिश्मा मानन्धरकी छोरी हुन कविता मानन्धर । उनले चलचित्र एउटा यस्तो प्रेम कहानीमा अभिनय गरेकी छिन । उनले त्यसपछि अन्य चलचित्रमा भने काम गरेकी छैनन् ।

 

यसका अलवा चलचित्र पिंजडामा अभिनय प्रसिद्धिका रायमाझी सुप्रसिद्ध अभिनेत्री स्वर्गिय शुशीला रायमाझीकी छोरी, चलचित्र सो सिम्पलमा अभिनय गरेकी भावना रेग्मी निर्देशक स्वर्गिय शिब रेग्मीकी छोरी, चलचित्र छक्का पञ्जा २ मा सानो भुमिकामा काम गरेकी मौसमी गिरी कलाकार तथा लेखक दिपकराज गिरीकी छोरी र चलचित्र रोजमा बाल कलाकारका रुपमा काम गरेकी आर्या पौडेल निर्देशक निरक पौडेलकी छोरी हुन ।

यस्तै कलाकार तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले सहायक निर्देशकका रुपमा केही चलचित्रमा काम गरेकी छिन । उनले चाँडै चलचित्र निर्देशन गर्ने बुझिएको छ भने कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी कान्छि छोरी रोमीले पनि चलचित्र नथिङ्ग इम्पोसिवलमा काम गरेकी छिन ।