पोखरा र धरानमा गुन्जदै सुजन

२०८२ बैशाख १२
पोखरा र धरानमा गुन्जदै सुजन

चर्चित गायक सुजन चापागाईले पोखरा र धरानमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । चलचित्र ‘ऊनको स्वीटर’को प्रचारका लागि उनले ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ नामको कार्यक्रम गर्न लागेका हुन् ।

चलचित्रका गीत निर्देशकसमेत रहेका गायक चापागाईँ सहित अन्य कलाकारहहरुले कार्यक्रममा बिभिन्न प्रस्तुती सहित दर्शकसँग प्रत्यक्ष अन्तक्रिया समेत गर्नेछन् । कार्यक्रममा चापागाईँ सहित कलाकारहरु विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सम विक्रम राई र निर्देशक नवीन चौहानको विशेष उपस्थिति रहनेछ ।

पोखराको लेकसाइडस्थित हल्लन चोकमा आज अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रम प्रचार नेपाल, पोखराको व्यवस्थापनमा आयोजना हुँदैछ । उक्त कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र चलचित्रका कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईँले ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन् । त्यस्तै, झलकमान गन्धर्वको जन्म जयन्तीको अवसर पारेर गन्धर्वको परिवारको उपस्थितिमा सुजनले झलकमानका गीतमार्फत श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि समावेश छ ।

त्यसै गरी, धरानको रङ्गशालामा वैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रमलाई सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ले साथ दिनेछ । कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहनेछ ।

हालै सार्वजनिक भएको यस चलचित्रको गीत ‘काफ्ले’ सामाजिक सञ्जालमा निकै चर्चामा छ । यसअघि सार्वजनिक भएका ‘फूल’ र ‘मखमली’ गीतले पनि राम्रो लोकप्रियता कमाएका छन् । चलचित्रको ट्रेलर सार्वजनिक भने काठमाडौँमा वैशाख १६ गते साँझ ४ बजे गरिने तयारी छ ।

Latest Updates

New Releases (Jestha 2)

Next Releases (Jestha 9)