Mahajatra

‘क्याप्टेन’सँगै फागुन १७ मा ‘दि ब्रेकअप’

२०७५ पौष १
‘क्याप्टेन’सँगै फागुन १७ मा ‘दि ब्रेकअप’

चलचित्र ‘दि ब्रेकअप’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि पुस २७ लाई प्रदर्शन मिति घोषणा गरेको भए पनि प्राबिधिक कारण देखाउँदै फागुन १७ लाई नयाँ मिति घोषणा गरेको हो । सोही मितिमा अन्य दुई चलचित्र ‘क्याप्टेन’ र ‘जात्रै जात्रा’ पनि प्रदर्शन हुँदैछन् । क्याप्टेन फागुन १७ मै प्रदर्शन हुने पक्का छ भने जात्रै जात्राका मुख्य कलाकार विपिन कार्कीको सवारी दुर्घटना भई हाल आराम गरिरहेका कारण समयमै छायाँकन नहुँदा प्रदर्शन अनिश्चित भएको छ ।

पूर्व निर्धारित मितिमा चलचित्रको प्राबिधिक काम नसकिने भएकोले प्रदर्शन मिति पछि सार्नु परेको निर्माण पक्षले जनाएको छ । फागुन १७ मा पर्याप्त बिदा भएको र बजारले दुई नेपाली चलचित्र धान्ने ठानेरै प्रदर्शन मिति लक गरेको निर्देशक हेमराज बिसीले जनाएका छन् । उनले क्याप्टेनसँग जुधाउन खोजेको भन्नु भन्दा पनि एकसाथ प्रदर्शन हुन लागेको भन्नु उपयुक्त हुने बताएका छन् ।

लभस्टोरी जनराको चलचित्र दि ब्रेकअपमा आशिरसँगै शिल्पा मास्के, इच्छा कार्की, सरोज खनाल, रेमनदास श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई निर्देशक बिसीसँगै रुपक थापा, दीपक खतिवडा र रेणु राणाले निर्माण गरेका हुन । यस्तै स्पोर्टस् जनराको चलचित्र क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन । चलचित्रमा अनमोल केसी फुटबलरको भुमिकामा छन् । अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल, सुनिल थापालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलार्इ भुवन केसीले निर्माण गरेका हुन ।

दि ब्रेकअप निर्देशक बिसी र क्याप्टेन अभिनेता केसीले सन् २०१३ को चलचित्र होस्टेलबाट डेव्यु गरेका हुन । एकसाथ चलचित्रमा डेव्यु गरेका यि दुईले होस्टेल, जेरी र गाँजलु गरि ३ चलचित्रमा काम गरेका छन् ।