चलचित्रको कथा यथार्थपरक भएकोले दर्शकको मन जित्ने ‘तेल भिसा’ टिमको बिश्वास
शंकर घिमिरेको लेखन र निर्देशनमा बनेको चलचित्र ‘तेल भिसा’को टिम अहिले प्रचारप्रसारमा जुटेको छ । मंसिर ७ गते रिलिज हुने चलचित्रको टिम रिलिज मिति नजिकिँदै जाँदा दर्शक माझ पुग्न निरन्तर लागिरहेका छन् । यसै क्रममा चलचित्रको टिमले राजधानीमा चलचित्र पत्रकारहरुसँग अन्र्तक्रिया गरेको छ ।
चलचित्रका कलाकार र निर्देशकले ‘तेल भिसा’ यथार्थपरक घटनामा आधारित रहेकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । निर्देशक शंकर घिमिरेका अनुसार चलचित्र अमेरिकामा रहेका नेपालीहरूको जीवन भोगाइलाई चित्रण गर्छ। अमेरिकामात्र नभई, क्यानडा, अष्ट्रेलिया, र अन्य युरोपेली देशमा रहेका नेपालीहरूले भोग्नुपरेका यथार्थलाई पनि समेट्ने प्रयास गरिएको छ।
‘तेल भिसा’का मुख्य अभिनेता विपीन कार्कीले अमेरिकामा छायांकनका क्रममा धेरै अग्रज कलाकारसँग नजिकिने अवसर पाएको बताउँदै आफ्नो अनुभव साझा गरे । ‘टाढा–टाढाबाट कलाकारहरू चलचित्रका लागि आएका थिए, यो देखेर कलाकारिताप्रतिको उनीहरूको लगावलाई म अझ बढी सम्मान गर्छु,’ विपीनले भने ।
विपीनले यस चलचित्रमा दोहोरो भूमिका निभाएका छन्, जसलाई उनले निकै चुनौतीपूर्ण अनुभव गरेका छन् । ‘एउटै पात्र निभाउँदा पनि गाह्रो हुने बेला हुन्छ, दोहोरो भूमिका त झन् गाह्रो हुन्छ। तर, स्क्रिप्ट हातमा पर्नासाथ म मानसिक रूपमा तयारीमा लागेँ,’ उनले भने ।
त्यस्तै, अभिनेत्री तथा निर्माता ऋचा घिमिरेले अमेरिकामा छायांकन गर्नु विशेष चुनौतीपूर्ण नभएको बताइन् । उनले विपीनको सरल स्वभावले काममा सहजता ल्याएको पनि उल्लेख गरिन् । ‘विपीन अनस्क्रिन मात्रै होइन, अफ–स्क्रिन पनि अत्यन्तै सरल छन्। उहाँको यस्तो व्यवहारले अमेरिकामा छायांकन सहज बन्यो,’ ऋचाले भनिन्।
वर्षा राउतले यस चलचित्रमा गर्भवती महिलाको भूमिका निभाएकी छन्, जसका कारण उनलाई रमाइला अनुभवहरू भए । उनले मोटो देखिँदा घरपरिवारले मजाकमा गर्भवती भनेर बधाई दिने गरेको खुलासा गरिन् । “ममीले त एकदिन फोन गरेर ‘नानी बधाई छ’ भन्नुभयो,” उनले हाँस्दै सुनाइन् ।
निर्देशक शंकर घिमिरेले ‘तेल भिसा’मा विदेशी भूमिमा कानुन नबुझ्दा नेपालीहरूले भोग्नुपर्ने समस्यालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको बताए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
