Mansara

जातीय विभेदविरुद्ध लघु चलचित्र प्रतियोगिता

२०७८ मंसिर ११
जातीय विभेदविरुद्ध लघु चलचित्र प्रतियोगिता

जातीय विभेदविरुद्ध लघु चलचित्र प्रतियोगिता हुने भएको छ । नेपाल चलचित्र निर्देशक समाजको संयोजनमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीले उक्त प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

युनडीपीको अफिसियल वेव मार्फत दिइएको जानकारी अनुसार चलचित्रले जात व्यवस्था उन्मुलन सम्बन्धी विषयलाई तीन मिनेट भित्रमा प्रस्तुत गर्नु पर्नेछ । चलचित्रले जातप्रथा र यो प्रथा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जात प्रथा उन्मुलन सम्बन्धी विद्यमान कानूनलाई लागू गर्न प्रेरित गर्ने हुनुपर्ने युएडीपीद्वारा जारी सूचनामा उल्लेख छ ।


भिडियो एचडि क्वालिटी हुनुपर्नेछ । यद्यपी मोबाइलले खिचेका चलचित्र पनि प्रतियोगिताका लागि योग्य ठहरिने छन् । प्रतियोगितामा छोटा चलचित्रका रुपमा अभिनय गरेका चलचित्र, एनिमेसन, भ्वाइस ओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्य मात्रै पनि सहभागी हुन सक्ने छन् । तर सामुदायिक भावनालाई चोट पुऱ्याउने वा आरोपित गर्ने भिडियोलाई भने प्रतियोगितामा प्रोत्साहित गर्न नसकिने सूचनामा उल्लेख छ ।

इच्छुकले डिसेम्बर १० भित्र सहभागिता जनाइसक्नु पर्नछ । प्राप्त भिडियो युएनडीपीको पेजमा राखिने र त्यहाँ राखिएका चलचित्रले पाउने दर्शक, अन्तक्रिया र प्रभावका आधारमा मूल्यांकन हुने युनडीपीले जनाएको छ । यसका साथै तीन सदस्यीय निर्णायकले समितिको मूल्यांकनका आधारमा विजेता घोषणा गरिनेछ । सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन चलचित्र छनौट हुनेछन् ।

प्रतियोगितामा पहिलो हुने चलचित्र २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Mahajatra