Mahajatra

धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ घोषणा

२०७६ श्रावन २२
धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ घोषणा

‘सेन्टी भाइरस’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।

रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा सह-निर्मातामा डिन्डुका भाई फुर्पा लामा रहेका छन् । भदौ ३ देखि शुरु गरि ३५ दिनमा छायाँकन सक्ने लक्ष्य निर्माण पक्षको छ । धुर्मुस-सुन्तलीको प्रस्तुति रहने चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)सँगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतका कलाकारको अभिनय रहनेछ ।

धुर्मुससुन्तलीले छोरी सुबिहानीको नामबाट व्यानर दर्ता गरेका छन् । चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको लेखन, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहनेछ ।

सामाजिक कथाबस्तुमा निर्माण हुने चलचित्रको मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गरिने कलाकार सिताराम कट्टेलले जानकारी दिए ।