Mansara

‘सम्झना बिर्सना’ को ‘परेली’ पूजा र आकाशको रोमान्स

२०७८ चैत्र २८
‘सम्झना बिर्सना’ को ‘परेली’ पूजा र आकाशको रोमान्स

पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्र ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशीत चलचित्रको गीत आइतबार राजधानीमा प्रेसमिट गरि प्रदर्शन गरिएको हो । दार्जिलिङका रमणीय स्थलहरुमा खिचिएको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द र संगीत पनि निर्देशक निमेषकै हो ।

०७९ को जेठ ६ गते प्रदर्शन हुने चलचित्रको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन भने निर्मातामा रेबिका प्रधान छिन् । कार्यक्रममा निर्देशक निमेषले आफ्नो चलचित्रमा नौलो प्रेमकथा प्रस्तुत गरिएको बताए । गायक, गीतकार र संगीतकारसमेत रहेका निमेषले आफ्नो चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन दिने दावी गरे । चलचित्रका प्रस्तुतकर्ता अद्वितीयले आफूहरु निरन्तर नेपाली चलचित्र निर्माण गर्ने योजनामा रहेको बताउदै ‘सम्झना बिर्सना’ ले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे ।

अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ टिमसँग काम गर्न पाउदा निकै खुशी लागेको बताइन् । उनले अभिनेता आकाश आफूलाई कन्फर्ट लाग्ने बताउदै दर्शकले आफूहरुलाई यो चलचित्रमा पुनः एकपटक संगै देख्न पाउने बताइन् । ‘मलाई आकाश र पलसँग काम गर्न निकै सहज लाग्छ । दर्शकले पनि म र आकाशलाई फेरि एकपटक पर्दामा हेर्न चाहनु भएको छ । त्यसकारण पनि मलाई यो चलचित्रप्रति निकै मोह छ ।’ उनले चलचित्र निकै राम्रो बनेकाले फेरि पनि सबैको माया पाउनेमा ढुक्क रहेको बताइन् । त्यसैगरी, अभिनेता आकाशले ‘सम्झना बिर्सना’ सम्झन लायक चलचित्र भएको बताउदै कोरोनापछि यही चलचित्रमार्फत आफू पर्दामा आउन लागेकोमा दर्शकको माया पाउने बिश्वास ब्यक्त गरे । कार्यक्रममा निर्मात्री रेबिकाले आफूहरुले निकै मिहीनेतका साथ चलचित्र बनाएकाले सबैको साथ,हौसला र मायाको आशा राखेको बताइन् । छायाँकार शिब ढकालले दर्शकको मनोरञ्जनका लागि निकै मिहिनेतका साथ चलचित्र निर्माण गरिएकाले सफल हुनेमा सतप्रतिशत बिश्वस्त रहेको बताए । कोरियोग्राफर कमल राईले हरेक बर्गका दर्शकलाई यो चलचित्र मन पर्ने दावी गरे । 

आरआर चलचित्रस्ले बितरण गर्ने चलचित्रमा पूजा र आकाशका साथमा सुनील थापा,शिसिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्रको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले साथ दिएका छन् ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । चलचित्रका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको चलचित्रको प्रोडक्शन राम कार्की र कृष्ण प्रधानले सम्हालेका छन् । चलचित्रको ट्रेलर छिट्टै सार्वजनीक गरिने जानकारी निर्देशक निमेषले दिएका छन् ।