विश्व आदिवासी दिवस ‘रिमै’को प्रचार

२०८२ श्रावन २७
विश्व आदिवासी दिवस ‘रिमै’को प्रचार

आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’को प्रचारलाई तिब्रता दिइएको छ । ३१ औं विश्व आदिवासी दिवसको अवसरमा राजधानीका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा निर्माण पक्षले सक्रिय सहभागिता जनाउदै चलचित्रको प्रचार गरेको हो ।

आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न संघ–संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको ठूलो सहभागिता देखिएको थियो । रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्‍यालीमा ‘रिमै’ टिमले आफ्नो उपस्थितिलाई विशेष बनाएको थियो ।

कलाकार, निर्माता तथा निर्देशकलगायत टोली आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्ना गर्ने सन्देशसहित सहभागी थिए । ‘रिमै’ टिमका सदस्यले आदिवासी दिवसलाई केवल उत्सव मात्र नभई अधिकार, समानता र सांस्कृतिक सम्मानका लागि संघर्षको प्रतीकका रूपमा लिएको बताए । निर्देशक खिल बहादुर गुरुङले चलचित्र मार्फत पनि आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घलेलगायतको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।