Mansara

ओभरसिजमा 'रङ्गेली'को उच्च माग

२०८० फागुन ३०
ओभरसिजमा 'रङ्गेली'को उच्च माग

 रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको नेपाली चलचित्र 'रङ्गेली'को विदेशमा उच्च माग भएको छ । नेपालमा प्राप्त प्रतिक्रियासँगै विदेशबाट 'डिमान्ड' आएको निर्देशक अर्जुन सुवेदीले बताए ।

यो चलचित्र अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको थियो । नेपालमा मन पराइएपछि मलेशिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा हालै मात्र बिक्री भएको सुवेदीले बताए । अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग रिलिजको लागि अन्तिम चरणमा पुगेको उनले बताए । यो चलचित्रका निर्देशक सुवेदी नेपाली चलचित्रका ओभरसिज वितरक समेत हुन् ।

जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा 'एक्का बास्सा इन्टरटेन्मेन्ट' र 'लाइभ एट प्रिजेन्ट'ले 'रङ्गेली' रिलिज गर्दै छन् ।  त्यस्तै मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा सुरज लम्साल र  
'एक्का बास्सा इन्टरटेन्मेन्ट'ले रिलिज गर्दैछन् ।

नेपालमा शुक्रवार रिलिज भएको यो चलचित्रलाई लिएर दर्शकको 'वर्ड अफ माउथ'का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो । चलचित्रको लम्बाई कम भएपछि दर्शकले झनै 'इञ्जोए' गरेको निर्देशक सुवेदीले बताए । मङ्गलवारका अधिकतम शो हरूमा ७० प्रतिशत अकुपेन्सी देखिएको बताइएको छ । बुधवार धेरै हलहरूमा ५० प्रतिशत छुटको अफर रहेको कारण दर्शकको चाप थप बढी देखिएको छ ।

अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

'रङ्गेली'मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।