Mansara

‘रङ्गेली’ दोस्रो हप्तामा प्रबेश

२०८० चैत्र २
‘रङ्गेली’ दोस्रो हप्तामा प्रबेश

गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘रङ्गेली’ सफलताका साथ दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता रिलिज भएका सबै हलहरूमा केही सङ्ख्या कम गरी यस हप्ता पनि शो प्राप्त भएका छन् । एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले हल रिजर्भ गरेका कारण देशकै ठुलो मल्टिप्लेक्स चेनको काठमाडौं उपत्यकाका हलहरूमा भने केही कम शो रहेका छन् ।

“पहिलो हप्ताको अन्त्यतिर आइपुग्दा दर्शकको उपस्थिति झन् बढेको थियो । नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनुभएको महसुस गरेँ । चलचित्रको प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो । म निकै उत्साहित छु,” निर्देशक अर्जुन सुवेदीले बताए ।

दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो । चलचित्रको लम्बाई कम भएपछि दर्शकले झनै 'इञ्जोए' गरेको निर्देशक सुवेदीले बताए । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

'रङ्गेली'मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।