Mansara

‘रजतपट’ बन्द गर्ने प्रकाश सुबेदीको घोषणा

२०७८ पौष ९
‘रजतपट’ बन्द गर्ने प्रकाश सुबेदीको घोषणा

एपीवान टेलिभिजनको चर्चित कार्यक्रम ‘रजतपट’ बन्द हुने भएको छ । प्रस्तोता प्रकाश सुबेदीले रजतपटको ७२ औं अंकमा आफ्नो कार्यक्रम बन्द हुने घोषणा गरेका हुन् । यद्यपी यो कार्यक्रम तत्काल बन्द हुन लागेको भने होइन । सुबेदीका अनुसार कार्यक्रम १०० भाग पुगेपछि उनी आफैले बन्द गर्नेछन् ।

चलचित्रका गतिबिधीहरु समावेश हुने यो कार्यक्रम जति चर्चित छ त्यत्ति नै बिबादित पनि छ । चलचित्रकर्मीहरुले रजतपटका केही सामग्रीहरुमा असन्तुष्टि जनाउँदै पटक पटक बिभिन्न निकायमा उजुरी दिने गरेका छन् । यद्यपी दर्शकहरुले भने कार्यक्रमलाई मन पराईरहेका छन् ।

प्रेस काउन्सिल, एपीवान टेलिभिजन लगायत चलचित्र क्षेत्रका बिभिन्न संघ सस्थामा यो कार्यक्रम विरुद्ध उजुरी पर्ने गरेका छन् । एकाध घट्नामा त सुबेदीले सार्वजनिक रुपमा माफी समेत मागेका छन् भने चलचित्र क्षेत्रका संघ संस्थाको बहिस्कारको निर्णय पनि गरेका थिए । एक पटक भने टेलिभिजनले प्रकाश कार्यक्रमलाई केही हप्ता निलम्बन समेत गरेको थियो ।

सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्नेको संख्या बाक्लो भएपनि पुजा शर्मा, सिल्पा पोखरेल पछि यतिबेला अर्की अभिनेत्री वर्षा शिवाकोटीले मात्र रजतपट बिरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छिन । उजुरी परे लगत्तै सुबेदीले लामो भुमिका बाध्दै कार्यक्रम नै बन्द गर्ने घोषणा गरेका हुन् । उनले आफु गलत भएर आफुलाई सही प्रमाणित गराउन त्यत्ति गाह्रो हुन्न होला तर, आफु सही भएर सही प्रमाणित गराउन भने निकै गाह्रो हुने बताएका छन् । उनले आफुले रजतपटमा नयाँ केही नगरेको भन्दै सामाजिक सञ्जालमा छताछुल्ल विषयमाथी आफ्नो टिप्पणी मात्र हुने गरेको जनाएका छन् ।

उनले रजतपटले नराम्रो मात्र भन्यो भनेर चिया पसलमा गोहीको आँशु चुहाउनेहरुलाई खुशीको खबर भन्दै भनेका छन् – ‘अब रजतपटलाई बन्द गराउन भोक निद्रा बिर्सेर कुद्न पर्दैन तपाईहरु । ठान्नुहोस् तपाईहरुकै जित भयो । यो रजतपटको ७२ औं श्रृखला हो । सय एपिसोड पुगेपछि रजतपटलाई हामी आफै बन्द गर्नेछौं ।’

कार्यक्रममा साता भरीका चलचित्रका गतिबिधी, समाचार टिप्पणीका साथै चलचित्रको व्यवसायिक समिक्षा समेत समावेश हुने गर्छ ।

Mahajatra