पोस्टर सार्वजनिक गर्दै ‘रेलको बाटो’ निर्माणको घोषणा

२०८२ श्रावन १६
पोस्टर सार्वजनिक गर्दै ‘रेलको बाटो’ निर्माणको घोषणा

थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘रेलको बाटो’ निर्माणको औपचारिक घोषणा गरिएको छ । लक्ष्मण सुनारको कथा तथा निर्देशन रहने चलचित्रले कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने जनाइएको छ । निर्माण पक्षले पोस्टरमा बिभिन्न नाराहरु मार्फत कर्णालीका विषयलाई विम्वात्मक रुपमा प्रयोग गरेको देखिन्छ ।

चलचित्र कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने छ । सुरज पण्डितको संगीत रहने चलचित्रमा निसाल पौडेलको छायाँकन रहने छ । चलचित्रका कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् भने वितरण अधिकार काफिया फिल्म्सले लिएको छ ।

निर्देशक सुनारका अनुसार, चलचित्रले सामान्य नागरिकको संघर्ष, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, र राजनीतिक बेवास्तालाई चलचित्रको मूल विषय बनाउनेछ । कर्णालीका सडक अभाव, उपचारको कठिनाइ, विकास योजनामा देखिने हस्तक्षेप र शक्ति केन्द्रको नजरन्दाजजस्ता विषयहरू चलचित्रको मुख्य कथा हुने जनाइएको छ ।

यो वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा चलचित्रको छायांकन गरिनेछ । यतिबेला पटकथा अन्तिम चरणमा रहेको र कलाकारको टुंगो चाँडै लाग्ने निर्माण पक्षले जानकारी दिएको छ ।