क्यूएफएक्सको टिकट अब खल्तीबाटै

२०७९ भाद्र १६
क्यूएफएक्सको टिकट अब खल्तीबाटै

डिजिटल एप खल्ती र नेपालको सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्सबीच बुधवार एउटा सम्झौता भएको छ । ललितपुरको लबिम मलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा खल्ती र क्यूएफएक्सका प्रतिनिधीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्

सम्झौता अनुसार अब दर्शकले क्यूएफएक्स चेनका ११ वटा हलका लागि खल्तीबाट सहजै टिकट काट्न सक्नेछन् । यसका लागि ५० सेकेन्ड भन्दा बढी समय नलाग्ने खल्तीका प्रतिनिधिले बताए । नेपाली फिल्मको प्रमोशन र नेपाली फिल्मको टिकट काट्न दर्शकलाई सहज होस् भन्ने उद्देश्यले खल्तीले नयाँ सोच लिएर अगाडि बढेको बताइएको छ । खल्तीका सिइओ बिनय खड्काले नेपाली फिल्मप्रति दर्शकको चासो बढोस् र टिकट काट्न पनि सहज होस् भनेर आफूहरुले सहकार्य गर्दै आएको बताए । उनले, आगामी दिनमा खल्तीले नेपाली फिल्मको प्रमोशनका लागि नयाँ नयाँ सोच बनाउने समेत बताएका थिए ।

यसैबीच खल्ती एपबाट अभिनेत्री पूजा शर्माले आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को पहिलो टिकट बुक गरेकी छिन् । कार्यक्रममा पूजाले खल्तीबाट कसरी सहजै ५० सेकेन्डमा फिल्मको टिकट काट्न सकिन्छ भनेर जानकारी समेत दिएकी थिइन् ।

उनले भनिन्– ‘नेपाली फिल्म हेर्नका लागि बुकिङ गर्नुपर्ने, लामो लाइन बस्नुपर्ने, हतार हतार हल पुग्नु पर्ने झन्झटबाट अब दर्शकहरु मुक्त हुनु भएको छ । खल्तीले नेपाली फिल्मको प्रमोशनका लागि देखाएको चासोले खुशी बनाएको छ । साथै, क्यूएफएक्सले सधैँ नै नेपाली फिल्मलाई माया गर्दै आएको छ ।’

पूजा अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ यही शुक्रबारदेखि रिलिज हुँदैछ । यो फिल्मलाई क्यूएफएक्सले देशभरका हलमा २४ शो उपलब्ध गराएको छ । अभिनेत्री शर्माले खल्तीबाट सहजै रुपमा फिल्मको टिकट काट्न दर्शकलाई आग्रह समेत गरेकी छिन् ।