‘३६ को आँकडा’मा पुष्पको इन्ट्री, पूजासँग जोडी बाँध्दै

२०८२ श्रावन ३१
‘३६ को आँकडा’मा पुष्पको इन्ट्री, पूजासँग जोडी बाँध्दै

अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्मा पुनः एकसाथ ठुलो पर्दामा देखिने भएका छन् । यसअघि सन् २०१५ मा चलचित्र अझैपनि र २०२३ मा चलचित्र मन सँग मन गरि दुई चलचित्रमा उनीहरुले एकसाथ काम गरेका थिए । भलै उनीहरु पर्दामा एक अर्काको जोडीका रुपमा देखिन पाएका थिएनन् ।

सन् २०२२ मा चलचित्र ‘राजकुमारी’मा उनीहरु जोडी बाँधिने तय भयो । तर, चलचित्र बन्न सकेन् । केही म्युजिक भिडियोमा भने उनीहरुले एकसाथ काम गरेका थिए ।

अब भने पूजा र पुष्प जोडीकै रुपमा चलचित्रमा देखिने पक्का भएको छ । चलचित्र ‘३६ को आँकडा’ अभिनेता पुष्पको इन्ट्री भएसँगै पूजासँग उनको जोडी बाधिने पक्का भएको हो । 

सवीर श्रेष्ठको निर्देशन रहने चलचित्रमा यसअघि नै अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्मासँगै अभिनेता महेश त्रिपाठीको अभिनय रहने तय थियो । चलचित्रमा रेखा र महेश तथा पूजा र पुष्प जोडी भएर देखिने छन् ।

कृष्ण–जन्माष्टमीको अवसर पारी शनिबार शुभसाइत गर्न लागेको चलचित्रको छायांकन सोमबारबाट सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । 

बाबुराम निरौला र शिवम् अधिकारीको संयुक्त लेखन रहेको चलचित्रले दुश्मनजस्तै रहेका दिदी–बहिनीको सम्बन्धलाई हास्य शैलीमा देखाउनेछ । रेखा र पूजाले दिदी–बहिनीको भूमिका निभाउनेछन् ।

निर्देशक श्रेष्ठको कम्पनी काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रको छायांकन काठमाडौं आसपासमा गरिने जनाइएको छ । नयाँ वर्षको छेको पारेर चैत २७ गते चलचित्र प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको बुझिएको छ ।