Mansara

आकाश र आफ्नो सम्बन्ध बारे चितवन पुगेर बोलिन पुजा

२०७६ कार्तिक २
आकाश र आफ्नो सम्बन्ध बारे चितवन पुगेर बोलिन पुजा

अभिनेत्री पूजा शर्माले अभिनेता आकाश श्रेष्ठसँग आफ्नो कमेस्ट्री राम्रो भएको बताएकी छिन् । कमेष्ट्री जमेकै कारण आकाश र आफ्नो जोडीलाई दर्शकहरुले मन पराएको र त्यही कारण बजारमा एकअर्कामा प्रेममा रहेको हल्ला चलेको उनको भनाई छ । तर, बजारमा चलेको हल्ला जस्तो आफुहरु प्रेममा भने नरहेको पूजाले जनाएकी छिन् ।

चलचित्र ‘पोई पर्‍यो काले’को प्रमोशनका लागि चितवन पुगेकी पुजाले यस्तो बताउकी हुन् । त्यसो त आफुले गरेका अन्य चलचित्र भन्दा ‘पोई पर्‍यो काले’ फरक शैलीको चलचित्र भएको उनको भनाई छ । लभ स्टोरी जनराको चलचित्र गरिरहेको अवस्थामा कमेडी चलचित्रमा काम गर्ने अवसर पाएको भन्दै उनले यो चलचित्रलाई पनि दर्शकहरुले रुचाइदिने बिश्वास लिइन ।

यस्तै अभिनेता आकाश श्रेष्ठले पनि लभ स्टोरीबाट कमेडी जनराको चलचित्रमा काम गर्दा धेरै चुनौती महसुस गरेको बताए । पहिलो पटक कमेडी जनराको चलचित्रमा काम गरेका कारण आफुले निकै मेहनत गरेको र त्यो मेहनतले दर्शकको मन जित्ने उनको विश्वास छ । यही कार्तिक ८ गतेबाट प्रदर्शन हुने चलचित्रको टिम प्रचारप्रसारका लागि चितवन पुगेको हो ।

प्रमोशनल टुरका क्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक शिशिर राणाले चलचित्र कमेडी शैलीको सामाजिक कथाबस्तुमा आधारित भएको बताएका छन् । उनले चलचित्र कमेडी जनरामा भए पनि यसमा सामाजिक कथा प्रस्तुत गर्न खोजिएको बताए । समाजमा मानिसको बाहिरी रुप मात्र हेरिने गलत प्रवृती माथि चलचित्र निर्माण गरिएको उनको भनाई छ । चलचित्रमा राणाकै कथा रहेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा र आकाश सँगै सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ । 

किरण नेपाली प्रस्तुतकर्ता, दिपक मनाङ्गे र सरोज नेपाली निर्माता र अमलादेवी राई कार्यकारी निर्माता हुन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहेको छ ।