Mansara

दशैंको अवसरमा ‘प्रेमगीत ३’, असोज ७ मा प्रदर्शन हुने

२०७९ जेष्ठ ८

‘प्रेमगीत ३’ घटस्थापनाको तीन दिन अगाडि अर्थात् असोज ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले  आइतवार एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति तोकेको हो । 
 
छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्र पिरियड ड्रामा हो । चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । यही चलचित्रबाट क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । 

चलचित्रमा राजेश श्रेष्ठले छायाँकन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी, कल्याण सिंह र एलिश कार्कीको संगीत, छेतेन गुरुङ र मन्दीप गौतमको लेखन र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

चलचित्रले पहिलो पल्ट २०७६ चैत्र २८ का लागि प्रदर्शन मिति तोकेको थियो । तर, कोरोना संक्रमण फैलिएपछि जारी लकडाउनका कारण प्रदर्शन स्थगित भएको थियो । नेपालमा लकडाउन भइरहदा निर्माण टिम भारत पुगि चलचित्रलाई त्यहाँ पनि रिलिज गर्ने तयारी थालेको थियो । जसका कारण चलचित्रलाई हिन्दी भाषामा पनि डब गरिएको छ ।

हिन्दी डब पूरा भएपछि गत वर्ष भारत र नेपालमा एकसाथ प्रदर्शन गर्ने भन्दै फागुन १३ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर, प्रदर्शन मिति नजिकिँदै गर्दा कोरोना महामारीको तेस्रो भेरियन्ट फैलिएपछि चलचित्रको रिलिज पुनः स्थगित भएको थियो ।