Mansara

यस्तो छ प्रदिप खड्का अभिनित ‘प्रकाश’को टिजर

२०७९ जेष्ठ १७
यस्तो छ प्रदिप खड्का अभिनित ‘प्रकाश’को टिजर

चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार भिडियो साझेदारी सञ्जाल युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा नायक प्रदिप खड्का र अभिनेत्री दिया मास्केलाई फिचर्ड गरिएको छ । कर्णालीको लुक्समा तयार भएको टिजरमा प्रदिप र दिया शशक्त रुपमा देखिएका छन् ।

दिनेश राउतको निर्देशनमा बनेको चलचित्रले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोशन प्ले गरिएको छ । टिजरमा मुख्य कलाकारले परिवर्तनका लागि लडेका बुबाको आदर्श पछ्याउँदै मेहनत गरेर पढेर पनि शिक्षक बन्न घुस खुवाउन परे शिक्षक नै नब्बने तर्क गरेको देख्न सकिन्छ । जसले राज्य सञ्चालनको संयन्त्र माथी तिखो प्रहार गरेको छ ।

टिजरको पृष्ठभुमिमा बज्ने कर्णालिको लोक भाकाले त्यहाँको परिवेशसँग थप नजिक बनाएको छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको यसअघि फष्टलुक पोष्टर सार्वजनिक गरिएको थियो । पोष्टर सार्वजनिक सँगै चर्चामा आएको ‘प्रकाश’ पछिल्लो समयको प्रतिक्षित चलचित्र हो ।

जुम्लामा छायाँकन भएको चलचित्रले त्यहाँको परिवेशलाई टपक्कै टिपेको छ । चलचित्रमा प्रदिप र दियाका अलवा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् । यसअघि नै चलचित्रको डिजिटल राइट्स् डिएआर मुभिजले खरिद गरेको छ ।