विरोध होला भनेर कथा भन्न छोड्दिनँ – प्रकाश सपूत

२०८१ चैत्र १९
विरोध होला भनेर कथा भन्न छोड्दिनँ – प्रकाश सपूत

गायक बाट निर्देशक बनेका प्रकाश सपूतले ‘वसन्त’ले पछिल्लो दुई दशकमा नेपाली समाजमा देखिएको कथा भन्ने जनाएका छन् । दोस्रो जनआन्दोलन २०६२/०६३ देखि हाल सम्म आफूले देखे, भोगेका जातीय, लैंगिक तथा वर्गीय विभेदको कथा चलचित्र मार्फत भन्न लागेको उनको भनाई छ ।

उनले आफूले चलचित्रमा देखाएको कथा अहिलेसम्म कहीँ कतै नदेखिएको, नभनेको कथा हो भनेर जिकिर नगर्ने जनाएका छन् । तर, यस अघि पनि चलचित्रको पर्दामा देखिएको जातियताकै कथा रहेछ भनेर गरिएका टिप्पणी माथी उनले असहमती जनाएका छन् । उनी भन्छन्, ‘महाकवी लक्ष्मीप्रसाद देवकोटाको मुनामदन कहिल्यै नेपाली समाजका लागि पुरानो हुन्छ र ? त्यो बेला नेपाली समाज रोजगारीका लागि भोट जान्थ्यो भने अहिले अरब जान्छ ।’ यो कथा भनिरहँदा चलचित्रले कसैको पक्ष र विपक्षमा लागेर कसैको पक्षपोषण र विरोध पनि नगर्ने उनको भनाई छ । सवैको कथा समेटेर समाजको वास्तविकता देखाएको उनको दाबी छ ।

राजनीतिक व्यवस्था परिवर्तन भएपनि त्यसले देखाएको परिवर्तनको आशा पूरा नभएको र त्यो कुरा पनि आफ्नो सृजनामा समेटेको उनको भनाई छ । विरोध र विवाद आउला भनेर आफूलाई मन लागेको कथा भन्न नडराउने भन्दै उनी भन्छन् – ‘कुन पार्टीले के भन्छ भन्ने छैन । कसैलाई खुसी वा दुखी बनाउनु पनि छैन,’ प्रकाशले भने, ‘समाजमा भएको कुरा देखाउने हो, त्यो देखाउन मलाइ कसैले रोक्न सक्दैन । भोलि यो कुरा विवादमा आउला, विरोध होला भनेर म कथा भन्न छोड्दिनँ ।’

यस्तै अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिबाट चाहेर पनि कोही टाढा भाग्न नसक्ने बताउँछिन् । कुनै न कुनै कुराले हरेक व्यक्ति राजनीतिमा ठोक्किन पुग्ने उनको भनाई छ । त्यसैले चलचित्रमा राजनीतिक विषय जोडिएर आउने कुरालाई उनी सामान्य लिन्छिन् । सामाजिक र राजनीतिक विषयसँगै आफूले नदेखेको र नभोगेको समाज र समयको कथा ‘वसन्त’ले भन्ने उनले बताइन् ।

जातीय विभेद र सशस्त्र द्वन्द्वको कथा आफ्ना लागि नौलो भएको स्वस्तिमा बताउँछिन् । नयाँ पुस्ताका लागि २० वर्ष अगाडिको समाज हेर्न र त्यही समयमा हुर्किएको पुस्ता नोस्टाल्जिया हुन ‘वसन्त’ हेर्नुपर्ने स्वस्तिमाको बुझाई छ ।

चलचित्रमा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । ‘वसन्त’ चैत २२ गते प्रदर्शन हुँदैछ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा कथा, पटकथा र संगीत स्वयं निर्देशक प्रकाशले तयार पारेका छन् ।

चलचित्रका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।