‘प्रकाश’मा हलि बने प्रदिप

२०७९ आषाढ २६
‘प्रकाश’मा हलि बने प्रदिप

विगतमा टाइप कास्ट जस्तै भएका अभिनेता प्रदिप खड्काले ‘प्रकाश’मा एउटा चुनौति लिएका छन् । आफ्नो कम्फर्ट जोनबाट नितान्त भिन्न रहेर उनले काम गरेका छन् ।

‘प्रेमगीत’बाट चम्किएको प्रदिपको करियरमा प्रेमकथा बाहेक सायदै आयो । यसैले पनि होला प्रदिप सधै लभरब्यायकै रुपमा देखिए । सायद उनका फ्यानहरुलाई पनि अब त त्यही बानि परेको हुदो हो । तर, ‘प्रकाश’मा उनी सप्राइज बनेर निस्किए । आफ्नो बढ्दो स्टारडमका बिच उनले ठुलै चुनौति स्वीकार गरे । तर, स्टारडम चुलिदै गर्दा पनि प्रदिपको अभिनयमा भने धेरैले खोट देखे । सायद यसैले पनि होला रचनात्मक आलोचनालाई स्वीकार गर्ने प्रदिपले आफ्नो स्टारडमलाई खुकुरीकै धारमा राखेर ‘प्रकाश’मा काम गरे । आज उनको त्यही पात्रले चर्चा पाएको छ । प्रदिपका फ्यानहरुले मात्र होइन अन्य बौद्धिक जमातले पनि उनलाई प्रकाशका रुपमा स्वीकार गरेको छ ।

विगतलाई हेर्ने हो भने प्रदिपका चलचित्रका गीतहरु कि त मुस्ताङ, कि त बिदेश वा नपालकै पनि चिल्ल, आकर्षक स्थानहरुमा छायाँकन भएको देखिन्थ्यो । निर्देशक दिनेश राउतले यसपटक प्रदिपलाई नेपाली माटोसँग साक्षात्कार गराएका छन् । सार्वजनिक टिजर र गीत हेर्दा टिपिकल नेपाली परिवेशमा चलचित्रको कथा भनिएको देखिन्छ । हरेक मानिसले सहजै रुपमा महशुस गर्ने शैलीमा चलचित्रका पात्र बिचको प्रेम देखाइएको छ ।

शिक्षक बन्ने सपना बोकेको पात्रलाई प्रदिपले प्रतिनिधित्व गरेका छन् । जसले शिक्षक बन्ने सपना साकार पार्न निकै सर्घष गर्छ । शिक्षक बन्न प्रयत्नरत् पात्रका माध्यमबाट चलचित्रले बर्गिय द्वन्द्वको कथा भन्छ । जागिर खान मात्र होइन प्रेममा पनि वर्गिय विभेदको असर कति छ भन्ने कुरा यसअघि सार्वजनिक ‘जोर मैना’ बोलको गीतले पनि देखाएको छ ।

त्यसो त प्रदिपले आफुलाई ‘प्रकाश’मा फिट गराउन निकै कडा मेहनत पनि गरेका थिए । स्टार भइसकेपछि पनि अभिनयको कक्षा लिएका थिए । काठमाडौंका सडकहरुमा खालि खुट्टा हिडेका थिए । हसिलो मुहार अनि चिटिक्क परेर हिड्ने प्रदिप शुक्रबार ‘प्रकाश’ टिमले सार्वजनिक गरेका दुई तस्विरहरुमा भने नितान्त भिन्न छन् । उनले सुख्खा जमिनमा हलो जोतिरहेका छन् । सर्ट र टाउजर लगाएका छन् । शरिरमा लगाएका लुगा मैलिएका छन्, खुट्टामा चप्पल पनि देखिदैन ।
सार्वजनिक तस्विरले चलचित्र प्रतिको प्रतिक्षा थप बढाउने निश्चित छ । चकलेटी फेसका प्रदिपले आखिर ‘प्रकाश’मा कस्तो काम गरेका छन् त उनका फ्यानहरुका लागि चासोको विषय बनिरहेको छ ।

भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

Mansara