चलचित्र संस्कार र संस्कृती संरक्षणको शक्तिशाली माध्यम हो – अभिनेता खड्का

२०८२ बैशाख २२
चलचित्र संस्कार र संस्कृती संरक्षणको शक्तिशाली माध्यम हो – अभिनेता खड्का

अभिनेता प्रदिप खड्काले पर्यटन प्रवर्द्धनका साथै भाषा, संस्कार र संस्कृती संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने शक्तिशाली माध्यम चलचित्र भएको बताएका छन् । रारा तालको मुहानमा सम्पन्न ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’मा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गत भएको समिटमा चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा विविध बहस र छलफलहरू भए ।

महोत्सवका सद्भावना दूतसमेत रहेका अभिनेता खड्काले विश्वभरका चलचित्र छायाङ्कनका लागि उत्कृष्ट स्टुडियोको रूपमा रारा ताल र वरपरका प्राकृतिक सम्भावनाहरूलाई उजागर गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिनु पर्ने र जलवायु परिवर्तनका कारण कर्णाली लगायत नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति माग्न कर्णालीवासीले आवाज उठाउन आवश्यक रहेको बताए । हिमालहरू पग्लँदै गएको, पानी र खाद्यान्न सङ्कट बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जलवायु परिवर्तनबारे जनचेतना फैलाउन र अभियान सञ्चालन गर्नुपर्ने उनको विचार थियो । साथै, आफ्नो नयाँ चलचित्र ‘छब्बीस करोड’ पनि चाँडै कर्णालीमा छायाङ्कन गर्ने योजना रहेको जानकारी दिए ।

महोत्सवको सह आयोजक चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सव अन्र्तगत विभिन्न स्थानमा भएका कार्यक्रमहरूले चलचित्र क्षेत्रमा नयाँ सम्भावनाहरूको खोजी गरेको बताए । उनले महोत्सवले गाउँ – गाउँसम्म चलचित्र प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गरे । उनले चलचित्र विकास बोर्डले बलिउडका केही प्रभावशाली व्यक्तिहरूलाई बोलाई रारामा समेत चलचित्रका गतिविधिहरू गर्ने योजना रहेको जानकारी दिए । रारा सहित कर्णालीका विभिन्न भागहरू खुल्ला स्टुडियोको रूपमा रहेको बताउँदै उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी बोर्ड अगाडि बढिरहेको उल्लेख गरे ।

यस्तै निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पहिलो पटक राराको सौन्दर्य अनुभूत गर्न पाएको बताउँदै भविष्यमा कर्णालीका कथालाई पर्दामा उतार्ने प्रतिबद्धता जनाइन् । रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु भामले ‘प्रेमगीत २’ पछि राराको प्रवर्द्धन बढेको भन्दै यस्ता गतिविधिलाई नीति बनाएर निरन्तरता दिने प्रतिबद्धता जनाए । नेपाल पर्यटन बोर्डका अधिकृत गोपाल भण्डारीले पर्यटन र चलचित्र प्रवर्द्धनलाई हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नाराका साथ आयोजित महोत्सवले नेपाली चलचित्र प्रवर्द्धनसँगै कर्णाली क्षेत्रको पर्यटन र जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्य लिएको छ । चलचित्र, पर्यटन र जलवायु विषयमा केन्द्रित दुई वटा सत्रमा सम्पन्न समिटमा स्थानीय संस्कृति, भाषा, पर्यटन पूर्वाधार र अन्तर्राष्ट्रिय बजारमा चलचित्रमार्फत कर्णालीको प्रतिनिधित्व गर्ने विषयमा छलफल भएको छ ।

मुगु जिल्ला समन्वय समितिका प्रमुख मनजन बहादुर कार्कीको प्रमुख अतित्थ्यता रहेको समारोहमा गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, सोरु गाउँपालिकाका उपाध्यक्ष केशर जङ्ग शाही, वडाध्यक्षहरू लगायत स्थानीय जनप्रतिनिधिहरूको सहभागिता थियो । उनीहरूले यस्ता समिटले कर्णालीका आवाजलाई केन्द्रमा ल्याएको बताउँदै छायाङ्कन र अन्य गतिविधिमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

महोत्सव निर्देशक चक्र बहादुर चन्दले महोत्सवलाई काठमाडौं केन्द्रित मात्र नभई कर्णालीका विभिन्न ठाउँमा गएर स्थानीय सम्भावनालाई उजागर गर्ने अभियानका रूपमा व्याख्या गरे । महोत्सव सल्लाहकार डा. महेन्द्र कुमार मल्लले कर्णालीको चेतना ब्युँझन थालेको बताउँदै महोत्सवले यो अभियान अझ सशक्त बनाउने उल्लेख गरे ।

यसअघि सुर्खेत र दैलेखमा महोत्सव सम्पन्न भइसकेको छ भने अवार्ड समारोह काठमाडौंमा आयोजना गरिनेछ । महोत्सवले चलचित्रमार्फत पर्यटन र जलवायु परिवर्तनको सन्देश फैलाउने, चलचित्रकर्मीलाई कर्णालीमा भित्र्याउने, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ ।