चलचित्र ‘प्रेमा’को फस्टलुक सार्वजनिक

२०७९ माघ १९
चलचित्र ‘प्रेमा’को फस्टलुक सार्वजनिक

गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । पोष्टरले चलचित्र रोमान्टिक लभस्टोरी भएको संकेत गरेको छ ।

निर्देशक भण्डारीले चलचित्रले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताए । चलचित्र ‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ जस्ता चलचित्रमा सह निर्देशकका रुपमा काम गरेका निर्देशक भण्डारीको पूर्ण निर्देशकीय डेब्यू चलचित्र ‘रणवीर’ हो । यो चलचित्रमा उनकै लेखन समेत थियो । यो चलचित्रबाट उनले कामको राम्रो तारिफ पाएका थिए ।

चलचित्र ‘प्रेमा’मार्फत गोविन्दले चलचित्र निर्माणमा पनि पाइला चालेका छन् । गोविन्दसँग लेखक तथा निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा सहकार्य गरेका छन् । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने घिमिरे चलचित्र ‘चिनी कम रङ कडा’का निर्देशक समेत हुन् ।

चलचित्र ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको हो । चलचित्रमा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को अभिनय छ ।

सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत रहेको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित चलचित्र आगामी चैत १७ मा रिलिज हुँदैछ ।