दुई गीत बाँकी राख्दै ५६ दिनमा सकियो ‘परिवर्तन’को छायाङ्कन

२०८२ श्रावन २१
दुई गीत बाँकी राख्दै ५६ दिनमा सकियो ‘परिवर्तन’को छायाङ्कन

चलचित्र ‘परिवर्तन’को दुई गीत बाहेकको छायाङ्कन ५६ दिनमा सम्पन्न भएको छ । निर्माता दीपक सिवाकोटीका अनुसार अब चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी छ ।

चलचित्रको छायाङ्कन झापाका विभिन्न स्थानहरू बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिका सहित पूर्वी नेपालको प्रमुख सहर विराटनगरमा गरिएको हो ।

विजय केरुङको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्कीलगायतका कलाकारको अभिनय छ ।

दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रले नेपालको सिमाना सुरक्षा, भ्रष्टाचारको जालो, तथा गरिब, दुःखी र असहाय जनताको पीडालाई कथानकमार्फत उजागर गर्ने बताइएको छ ।

निर्माता सिवाकोटीले नै चलचित्रको मूल कथा लेखेका हुन् भने यसको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन् । चलचित्रमा प्रोडक्सन हेडको भूमिकामा अरुण रेग्मी छन् भने छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन बन्दे प्रसादले र द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका छन् ।