‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक

२०८० जेष्ठ २८
‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक

आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ४७ सेकेण्ड लामो ट्रेलरले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा प्रस्तुत गरेको छ ।

बिफोरयु म्युजिकबाट सार्वजनिक चलचित्रको हिन्दी ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ । गत बिहिबार सार्वजनिक गरिएको नेपाली ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । बिशेष गरी अभिनेत्री शिल्पा मास्को बोल्ड अवतारको चर्चा दर्शकमाझ भइरहेको छ । चलचित्रमा शिल्पा सहित कोशिस क्षेत्री, गौरव बिष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको अभिनय छ ।

नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माण गरेको चलचित्रमा खनालकै लेखन, निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ । डिएस डिजिटको व्यारमा निर्माण भएको चलचित्रको भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दैछ ।