‘परस्त्री’को हिन्दी गीत रिलिज

२०८० जेष्ठ २१
‘परस्त्री’को हिन्दी गीत रिलिज

आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । आइतबार बिफोरयु म्युजिक बाट चलचित्रको हिन्दी डब ‘होना था जो होने लगा’ रिलिज गरिएको हो ।

चलचित्रको हिन्दी गीतलाई अमित मिश्र र सोनल प्रधानले स्वर दिएका छन् । केके ब्रोदर्सले संगीत दिएको गीतको हिन्दी शब्द रचना विनित त्रिपाठीले गरेका हुन् । चलचित्रका दुई मुख्य कलाकार शिल्पा मास्के र गौरव बिष्टलाई फिचर्ड गरिएको गीतको अडियो उत्कृष्ट लाग्छ । नेपाली र हिन्दीमा रिलिज हुने चलचित्रको सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी हेर्न सकिन्छ ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको चलचित्रलाई निरज कँडेलले छायांकन गरेका हुन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्रमा शिल्पा र गौरवका अलवा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल चलचित्रका लेखकसमेत हुन् । चलचित्रको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ । चलचित्रको प्राविधिक काम र रिलिजको चाँजो पाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा छन् ।