Mansara

अमेरिकामा हुने नेफ्टा अवार्डको औपचारिक घोषणा

२०७९ माघ २६
अमेरिकामा हुने नेफ्टा अवार्डको औपचारिक घोषणा

११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा गरिएको छ । विहिबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र अवार्ड आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको घोषणा गरे ।

नेपाली फिल्म र संगीतकर्मीको बाक्लो उपस्थिती रहेको समारोहमा अवार्डको आगामी संस्करण अमेरिकाको टेक्सासमा जेठ १३ गते (२७ मे, २०२३) मा आयोजना हुने जानकारी दिइयो । सो अवसरमा अवार्डको ट्रफी समेत अनावरण गरिएको थियो । अभिनेता श्रेष्ठले ट्रफी नेफ्टा अध्यक्ष पुष्कर लामा र अध्यक्ष लामाले अवार्ड ब्यवस्थापनको जिम्मा लिएका फेम नेपालका बिमल पछाइ र युएस खबरका ओम आचार्यलाई क्रमशः हस्तान्तरण गरे ।

नेफ्टा अध्यक्ष लामाले नेफ्टाको उद्देश्य अवार्ड मार्फत चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्ने र प्रवद्र्धन गर्नु रहेको बताए । ‘हामीले विगतदेखि नै नेफ्टालाई विभिन्न विदेशी मुलुकमा गरिरहेका छौं यसको उद्देश्य नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण हो’ अध्यक्ष लामाले भने ।

कार्यक्रममा वरिष्ठ अभिनेत्री बसन्धुरा भुषाल, गायक प्रेमराजा महत, कलाकारहरु चैत्यदेवी, शिव श्रेष्ठ, रविन्द्र खड्का, दीपाश्री निरौला, साम्राज्ञी शाह, शिल्पा मास्के, पुष्प खड्का, सुशिल श्रेष्ठसहित दर्जनौं कलाकर्मी उपस्थित थिए । अवार्डमा २०७९ सालभित्र रिलिज भएका चलचित्रले ४२ वटा विधामा प्रतिस्पर्धा गर्ने जानकारी दिइयो ।

यसअघि नेफ्टा अवार्ड दुबई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेको छ ।