Mansara

‘आमा’लाई राष्ट्रिय चलचित्र पुरस्कार, भुवन र शम्भुजितलाई दीर्घ साधना सम्मान

२०७९ बैशाख ४
‘आमा’लाई राष्ट्रिय चलचित्र पुरस्कार, भुवन र शम्भुजितलाई दीर्घ साधना सम्मान

चलचित्र ‘आमा’ले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ । आइतबार शीतल निवासमा आयोजित समारोहमा सोही चलचित्रबाट दिपेन्द्र के. खनालले उत्कृष्ट निर्देशक र सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७६÷०७७ का १० विधामा विजयीलाई राष्ट्रिय पुरस्कार प्रदान गरेकी हुन् । समारोहमा ‘छ माया छपक्कै’बाट दीपकराज गिरीले उत्कृष्ट अभिनेता, र हरि हुमागाईले उत्कृष्ट छायाँकारको अवार्ड पाए भने  ‘जात्रैजात्रा’बाट प्रदीप भट्टराईले सर्वोत्कृष्ट लेखन र ‘कबड्डी कबड्डी कबड्डी’बाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेल उत्कृष्ट सम्पादनको अवार्ड प्राप्त गरेका छन् ।

आदिवासी जनजातितर्फ भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ले अवार्ड जित्यो । प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’बाट अवस्था थापा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’ अभिनेता अंकित शर्माले अवार्ड जिते । अवार्ड बिजेतालाई ट्रफी प्रमाण पत्र सहित नगद २५ हजार प्रदान गरिएको थियो ।

यसपटक २०७६ र २०७७ सालमा प्रदर्शन भएका चलचित्रमध्येबाट पुरस्कार वितरण गरिएको हो । २०७६ सालमा विशेष चलचित्र पुरस्कार आमा, गुरुङ भाषाको मि न्होर्बै ट र नालापानीले जिते । २०७७ सालको विशेष फिल्म चाहिं ‘सरिता’ बन्यो । यस्तै २०७६ सालको दीर्घ साधना सम्मानबाट अभिनेत्री भुवन थापा र ०७७ को दीर्घ साधना सम्मानबाट संगीतकार शम्भुजित बाँस्कोटा सम्मानित भए । सम्मानित दुवैलाई ताम्रपत्रसहित नगद ३ लाख ५१ हजार रुपैयाँ प्रदान गरियो ।