Mansara

‘नालापानी’को प्रदर्शन मिति घोषणा

२०७९ आषाढ ३
‘नालापानी’को प्रदर्शन मिति घोषणा

ऐतिहासिक विषयमा निर्माण भएको सिनेमा ‘नालापानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । तिहारको अवसर पारेर कात्तिक ४ गतेलाई सिनेमाको प्रदर्शन मिति तोकिएको हो । शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको सिनेमालाई रिमेश अधिकारीले निर्देशन गरेका छन् । सिनेमाले चलचित्र विकास बोर्डबाट ‘विशेष सिनेमा २०२०’ स्पेशल अवार्ड पाएको थियो ।

सन् १८१४ मा भारतको देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईमा आधारित भएर सिनेमा निर्माण गरिएको हो । वीर योद्धा कुँवर र उनका सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरालाई जीवन्त रुपमा देखाइएको निर्देशक अधिकारीले बताए ।

सिनेमाको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेको छ । सिनेमामा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस्, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्धन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ ।

राम भट्टराई र हरि उप्रेतीले रचना गरेका सिनेमाका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सह-निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।

Mahajatra