Mansara

‘म यस्तो गीत गाउँछु २’ समिक्षा – कमजोर पटकथा, फितलो प्रस्तुती

२०७८ फागुन १८
‘म यस्तो गीत गाउँछु २’ समिक्षा – कमजोर पटकथा, फितलो प्रस्तुती

एउटा स्टारले आफ्नो स्टारडम जोगाउन गरेको एउटा गल्तिले निम्त्याएको घट्ना सच्याउन कति सम्म गर्न सक्छ भन्ने मुल कथा बोकेको चलचित्र हो ‘म यस्तो गीत गाउँछु २’ । तर, चलचित्र हेर्दै गर्दा उ सुपर स्टार हो भनेर तपाईले बुझिदिनु पर्छ । दृष्य भाषा यति कमजोर छ कि डाइलगको साहारामा धेरै कुरा भन्न खोजिएको छ ।

गायक पल बिक्रम शाह (पल शाह) स्टार गायक हुन् । उनी देश बिदेश कन्सर्टमा व्यस्त छन् । एकपछि अर्को गीत हिट छन् । कयौं फ्यान छन् यि स्टारका । ती फ्यान मध्येकी एक हुन् इलामकी छायाँ (पुजा शर्मा) । छायाँ पलकी फ्यान मात्र होइनन् संगीतकी बिद्यार्थी पनि हुन् । आफ्नै बुबाबाट संगीत सिकेकी छिन उनले । एक दिन पल कन्सर्टका लागि इलाम आउछन् जहाँ छायाँले पनि प्रस्तुति दिदैछिन । आफ्नो प्रस्तुती दिएर फर्कदै गरेका पल त्यही कार्यक्रममा छायाँले गाएको गीत सुनेर मोहित हुन्छन् । पल बिदेशको कन्सर्ट क्यान्सिल गरेर बिचबाटो बाटै फर्कन्छन् छायाँलाई भेट्न । छायाँको स्वरमा मोहित पल अनि पलकी निकै ठुलो फ्यान छायाँ, अब यि दुईको जीवनमा आउने आरोह अवरोहसँगै चलचित्रको कथा अघि बढ्छ ।

सुरुमा सामान्य लाग्ने कथाले मध्यान्तरमा केही गम्भिर मोड त लिन्छ । तर, कथामा गाम्भिर्यता भएपनि प्रस्तुति निकै फितलो हुँदा गम्भिर मोडपनि गम्भिर लाग्दैन । चलचित्रको सबैभन्दा कमजोर पक्ष नै यसको पटकथा हो । न त क्यारेक्टर नै स्थापित गरिएको छ, न त क्यारेक्टरको संघर्ष नै स्थापित हुन्छ । सतही रुपमा बुनिएको पटकथाले दर्शकलाई अपनत्व फिल गराउँदैन ।

पल बिक्रम शाह स्टार हुन भन्ने कुरा स्थापित नै हुन सकेको छैन । एउटा टेलिभिजन अन्र्तवार्ता, एकजना युट्युवरले मात्र फलो गरेको, एक दृष्यमा केही दर्शकहरु उनलाई हेर्न लालायित भएको, एउटा कम्पनीसँग कन्सर्टको लागि डिल गरेको दृष्यले उनलाई स्टार कलाकारका रुपमा स्थापित गर्न खोजिएको छ । तर, दृष्यले उनी स्टार हुने भन्ने कतै पनि स्थापित गर्न सकेको छैन । दर्शकले सम्बादका भरमा उनी स्टार हुन भन्ने पत्याउनु पर्छ । यता छायाँको क्यारेक्टर पनि स्थापित हुन सकेको छैन । बुबाले आफ्नो अधुरो सपना पुरा गर्न उनलाई संगीत सिकाएका हुन्छन् । तर, बुबाको अधुरो सपना र छोरीलाई संगीत सिकाउन गरेको संघर्ष, त्याग केही पनि देखाइदैन । न त छायाँका बुबा शर्माजी (हरिहर शर्मा) र छायाँले संगीतमा गरेको संघर्षनै देखाइन्छ । उनीहरुको क्यारेक्टर स्थापित नहुँदा संगीतमा पाएको एउटा धोकाबाट शर्माजीले चालेको कदम र त्यो कदमसँगै छायाँले लिएको आत्महत्याको निर्णयले पनि दर्शकमा कुनै भावुकता पैदा गर्दैन । चुलबुले केटीको रुपमा उनलाई प्रस्तुत गर्दै गर्दा एउटा दृष्यमा भने समाजमा भएको अन्याय बारे आवाज उठाएको देखाइन्छ । जुन दृष्यको कुनै अर्थ छैन चलचित्रमा ।

पटकथा यति कमजोर छ कि पल र छायाँ बिचको प्रेम नै स्थापित हुन सकेको छैन । उनीहरुको प्रेम स्थापित भएको भए सायद एउटा स्टार भएर पनि पलले छायाँका लागि गरेको त्याग, संघर्ष र सर्मपणले दर्शकको मन छुने थियो । पर्दामा कलाकार दुखि हुँदा दर्शकको मन रुने थियो । दृष्यको मात्र के कुरा सम्बादहरु पनि देखाइएको परिबेश भन्दा निकै परका लाग्छन् । कतिपय दृष्य र संबाद बिच सामन्जस्यता छैन । अझ छायाँले चलचित्रको अन्त्यमा बोल्ने सम्बादले अपराधलाई पनि प्रेमका रुपमा ब्याख्या गर्न खोजेको छ । चलचित्रले दर्शकमा सकारात्मक सन्देश प्रबाह गर्नु पर्नेमा यो चलचित्र अन्तिममा चुकेको छ ।

कथा अघि बढ्दै जाँदा एउटा घट्ना पछि छायाँको स्वर खुल्दैन । उनको स्वरका लागि अरुकै स्वरबक प्रत्यारोपण गर्नु पर्ने हुन्छ । तर, प्रत्यारोपण पछि पनि उनको ओरिजिनल आवाज नै आउछ । जबकी केही समयअघि पलले आफ्नो अंग दिन्छु भन्दा डाक्टरले उसको अंग प्रत्यारोपण गर्दा उसको जस्तै स्वर आउछ भनिसकेको कुरा देखाइएको छ । पटकथाको छनौट र प्रस्तुतीमा यस्ता थुप्रै कुरामा निर्देशक चुकेका छन् । चलचित्रको प्रस्तुति निकै कमजोर छ । ६० को दशकका चलचित्रमा देखिने शैलीकै झल्को आउँछ यसको प्रस्तुतीमा ।

अभिनयको कुरा गर्दा पल शाहको अभिनय अघिल्ला चलचित्रमा भन्दा सुधारिएको छ । छायाँको बुबाको रोलमा रहेका हरिहर शर्माको अभिनय अब्बल छ । देशबिदेशमा कन्सर्ट गर्ने इभेण्ट म्यानेजमेण्ट कम्पनीका प्रमुखको भुमिकामा देखिएका दिनेश डिसीको अभिनय पनि अघिल्ला चलचित्रमा भन्दा उल्लेख्य छ ।

चलचित्रको सबैभन्दा उत्कृष्ट पक्ष भनेको अर्जुन पोखरेलको गीतसंगीत हो । चलचित्रको केन्द्रिय द्वन्द्व पनि एउटा गीतमै समावेश छ । हुन त सांगीतिक प्रेमकथाको चलचित्रमा संगीतको भुमिका अब्बल हुन्छ नै । यसो भनेर अर्जुनको कामको भने प्रसंसा नगर्नु अन्याय हुन जान्छ । यस्तै चलचित्रको पाश्र्वसंगीत पनि उत्कृष्ट नै छ । शैलेन्द्र प्रधानले मुड अनुसारको पाश्र्व संगीत दिएका छन् । तर, अन्य प्राबिधिक पक्षमा पनि चलचित्र खरो उत्रन सकेको छैन । चलचित्रको छायाँकन औसत भए पनि सम्पादन र भिएफएक्स भने औसत पनि छैन ।

निर्देशक – सुदर्शन थापा
कलाकारहरु – पल शाह, पुजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी लगायत
लेखक – शिवम अधिकारी, दिनेश न्यौपाने